तथ्यहीन समाचार हटाउन प्रेस काउन्सिलको निर्देशन 

अध्यक्ष थापाद्वारा कडा कारबाहीको माग 



काठमाडौं।

प्रेस काउन्सिल नेपालले सिधाकुरा डटकमलाई कडा निर्देशन दिँदै तथ्यगत आधार र प्रमाणबिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउने समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लंघन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग भन्दै भ्रामक अडियो हटाउन भनेको छ ।

सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए, शीर्षकमा अतिरञ्जित सामग्री प्रसारण गरेपछि काउन्सिलले सिधाकुरामाथि कारबाही प्रक्रिया थालेको हो।

काउन्सिलले त्यस्तो गलत समाचार २४ घण्टाभित्र हटाई जानकारी दिनुका साथै त्यसको जवाफ पेस गर्नसमेत  निर्देशन दिएको छ ।

प्रसारित भ्रामक समाचारबाट आफ्नो चरित्रहत्या भएकाले हदैसम्म कारबाहीको माग गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले प्रेस काउन्सिलमा निवेदन दिएका थिए । काउन्सिलले ‘रामेश्वर थापा पनि जोडिए’ भनी आरोप लगाई सम्प्रेषण भएको सामग्रीमा त्यसको तथ्यगत आधार पुष्टि हुन नसकेको प्रस्ट पारेको छ ।

 

सिधाकुरा डटकमले अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापा, कान्तिपुर मिडिया ग्रुपका  अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराई, अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ताद्वय हरि उप्रेती र किशोर विष्टको नाम जोडेर कीर्ते अडियो बनाई तथ्यहीन सामग्री प्रसारण गरेको आरोप छ ।

‘समाचारमा भएका सम्पूर्ण सामग्री पूर्वाग्रहका लागि सिर्जना गरिएको, भाइरल र सनसनीपूर्ण बनाउन चाहेको, भ्रमपूर्ण कथित पात्रहरू उभ्याइ नक्कली नाटक गरी शतप्रतिशत झुठो बनाइएको र जीवनभर निष्पक्ष न्यायसम्पादन गर्न तल्लिन न्यायमूर्ति तथा सम्मानित सर्वोच्च अदालतको सम्मानित संवैधानिक बेन्चसमेत मुछी नेपालको लोकतन्त्रका लागि सदा लागि परिरहेका हामी अन्नपूर्ण पोस्ट् तथा कान्तिपुर मिडियाको मानमर्दन गरी पत्रकारिताको पराकाष्ठा नाघेको सूचित गर्न चाहन्छु’,  क्याप्टेन थापाको निवेदनमा भनिएको छ ।, ‘मेरो चरित्रहत्या र मानमर्दन गर्न तथा मसँग जोडिएका संस्थाहरूसमेतलाई बदनाम गर्न बदनियतपूर्ण तथा कसैको प्रायोजन र उक्साहटमा गरिएको तथ्यहीन र भ्रामक खेती हो। यो पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताको ठाडो उल्लङ्घनमात्र होइन, देशका विभिन्न कानुनको बर्खिलाफसमेत छ ।’ थापाले भनेका छन् ।

उनले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिंदै पुष्टि हुन नसके भैपरेको क्षतिको दण्डका लागि नेपाल सरकारका सम्बन्धित निकायमार्फत दोषीसँग लडिरहने घोषणा पनि गरेका छन् ।
यसैगरि कान्तिपुर मिडिया ग्रुपले पनि सो फेक समाचारप्रति भत्र्सना गर्दै फेक समाचार उत्पादन गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्