उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा कांग्रेसद्वारा धन्यवाद ज्ञापन



काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक वक्तव्य जारी गर्दै आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सबै पक्षलाई कांग्रेसले धन्यवाद ज्ञापन गरेको हो ।

उपनिर्वाचनमा मतदानमा मतदाताले जनाउनु भएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ वक्तव्यमा भनीएको छ । यो उप–निर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु ।

निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उप–निर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु, वक्तव्यमा उल्लेख छ । साथै, कांग्रेसले निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्