उपनिर्वाचन 

इलाम-२ मा आजै मत गणना सुरु गर्ने तयारी



इलाम। 

इलाम २ मा आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

 मतगणना आजै रातीबाट सुरु गर्ने तयारी छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । मतदान सम्पन्न पश्चात् मतगणना स्थल सदरमुकामको गौतमबुद्ध सभागृहमा यो समाचार तयार पार्दासम्म मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।

 आजै राती १०-११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चाँडो मतपेटिका आएको खण्डमा सर्वदलीय बैठक पश्चात् आजै रातीबाट गणना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

 इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा भोलिबाट मतगणना गर्ने तयारी छ । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित संबिधान सभा अध्यक्ष एवं एमाले नेता सुबासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यहाँ उपचुनाव भएको हो । उपचुनाव यस क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भएको इलामका प्रहरी प्रमुख वासुदेव खतिवडाले बताए ।

इलामको क्षेत्र नम्बर २ मा उपचुनाव भएपछि आज बिहान ५ बजेबाट साँझ ६ बजेसम्म यातायात बन्द गरिएको थियो । जसकारण इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ठाउँमा झापा लगायतका जिल्लाबाट आएका यात्रुहरु इलाम झापा सीमावर्ती जोरकलशमा अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस्