नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान



नेपालमा स्थापना भएका नगरपालिकाको ऐतिहासिक पक्ष केलाउने हो भने सफाइ अड्डाको रुपमा नगरपालिकाको स्थापना भएको देखिन्छ । चन्द्रशमशेर जबराले आफू हिँड्ने बाटो फोहोर भएको महसुस गरी वि.सं १९७६ पुस २ मा सफाइ अड्डाको स्थापना गरे । कालान्तरमा उक्त सफाइ अड्डा नगरपालिका हुँदै महानगरपालिका बन्यो । सरसफाइलगायतका नागरिकका आधारभूत विषयहरु व्यस्थापनका लागि नगरपालिका गठन गर्ने कानुनी प्रबन्ध भएअनुसार थप नगरपालिका गठन हुँदै गए । संघीय शासन प्रणालीपश्चात् स्थानीय सरकारका रुपमा नगरपालिकाहरु क्रियाशील रहेका छन् । यसर्थ नगरपालिकाले सरसफाइलाई प्रमुख प्राथमिकतामा राख्नुपर्दछ । अधिकांश नगरपालिकाले सरसफाइ र फोहोरमैला व्यवस्थापनमा ठूलो लगानी गरेका पनि छन् ।

नगर सफाइ र हरियाली प्रवद्र्धनको शुरुवात

यो अभियानको प्रेरणाको स्रोत बाग्मती सरसफाइ महा अभियान हो । उक्त अभियानका प्रमुख अभियन्तामध्ये तत्कालीन मुख्य सचिव लीलामणि पौड्याल र डा. राजु अधिकारी हुनुहुन्छ । बाग्मती सरसफाइ महाअभियानको शुरुवाती समयमा मलाई पनि टिममा बसेर अनुभव हासिल गर्ने मौका मिलेको थियो । म आफू प्रधानमन्त्री कार्यालयमा कार्यरत रहँदासम्म उक्त अभियानमा सक्रिय सहभागिता जनाएको थिएँ । त्यसपछि मैले जिम्मेवारी सम्हालेका सबै नगरपालिकामा यो अभियान शुरु गरियो । सन्धिखर्क नगरपालिका, घोराही उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, वाणगंगा नगरपालिका, कीर्तिपुर नगरपालिका, बर्दघाट नगरपालिकामा यो अभियान चलिरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदासमेत सिंहदरबार सरसफाइ अभियानको थालनी गरिएको थियो । सरसफाइ र हरियाली प्रवद्र्धन नागरिकको जीवनपद्वतिको रुपमा अंगिकार गर्न सबैलाई प्रेरणा दिन, अभियानमा सबैलाई जोड्न प्राथमिकताका साथ सञ्चालन गरिँदै आइएको छ ।

स्थानीय तहहरुमा समय–समयमा नगर सफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन भइरहेको छ । तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धनको सयौँ शृङ्खला भव्यताका साथ सम्पन्न ग¥यो । त्यसै गरी बुटवल उपमहानगरपालिकामा तिनाउ नदी सरसफाइ अभियान, राजमार्ग सरसफाइ अभियानलगायतका विभिन्न अभियान शुरुवात भए तापनि ती निरन्तर र शृङ्खलाबद्वरुपमा चल्न सकेका छैनन् । यद्यपि टोल सफा गर्ने, वृक्षरोपण गर्ने कामहरु उपमहानगरपालिकाभित्र बाक्लै देख्न सकिन्छ ।

मुख्य सचिव लीलामणि पौड्याल बाग्मती सरसफाइ अभियान अन्तर्गत दुर्गन्धित बाग्मतीमा प्रवेश गर्दा मुख्य सचिव भएर नीति बनाउने हो कि ? बाग्मतीको दुर्गन्ध सफा गर्न हिँड्ने हो ? भनेर आलोचना गरियो ।

त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले सरसफाइ अभियानको नेतृत्व गरिरहँदा सोही किसिमका आलोचना गर्नेहरु निकै भेटिए । तर, यो अभियान निरन्तर चलिरह्यो । अन्ततोगत्वा अड्डाको स्थापना दिवस, लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस, प्रदेश स्थापना दिवसलगायत हरेक महत्वपूर्ण दिवस, महोत्सव, कार्यक्रममा सरसफाइ अभियान जोडिनुका अतिरिक्त प्रमुख जिल्ला अधिकारीले आफ्नो पदभार ग्रहण गर्दा सरसफाइ अभियान सञ्चालन गर्ने, रुख रोप्ने, अड्डा सफा गर्नेलगायतका अभियानहरु चल्दै आएका छन् । मुख्य सचिव प्रमुख प्रशासकीय अधिकृतले सरसफाइ अभियान सञ्चालन गर्दा आलोचना गर्नेहरु नै अहिले सरसफाइ अभियानमा कुचो लिएर हिँडेको देखिन्छ । त्यसै गरी बाग्मती सरसफाइ महाअभियानमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता बढ्दो छ । यसले के सन्देश दिन्छ भने, समाज परिवर्तन र नागरिकको माइन्डसेट परिवर्तनका लागि प्रयोग गरिने विभिन्न औजारहरुमध्ये आफैँ रोलमोडल बन्ने र कुचो समात्नु पनि एउटा काइदा हो भन्ने विषयलाई प्रमाणित गरेको छ ।

सृष्टि एक दृष्टि अनेक

यो अभियान हेर्दा सामान्य लाग्छ । तर यसमा निकै ठूलो नैतिक बल लुकेको छ । यसले स्थानीय सरकारका सयौँ कामलाई जोड्ने, एकीकृत गराउने, नागरिक समाजलाई लयबद्ध गरी समग्र स्थानीय तहको विकासमा अगाडि बढाउने, परिचालन गर्ने काममा सहयोगी भूमिका निर्वाह गरेको छ । यो अभियानमा आफैँमा बहुआयामिक विषय हो । यसले धेरै कुराको डिमान्ड गर्दछ । अभियान केवल सडक सफा गर्ने मात्र होइन । सरसफाइ र हरियाली प्रवद्र्धनलाई जीवनपद्वतिको रुपमा विकास गर्ने मन्त्र पनि हो । हालसम्म गरिएका अभ्यासलाई मसिनो गरी केलाइयो भने पनि यी सबै कुरालाई सजिलै प्रमाणित गर्न सकिन्छ । सरसफाइ अभियानको एउटा वृक्ष हो । क्रमशः यो झाङ्गिँदै जान्छ, सबैलाई शीतलता प्रदान गर्न समष्टिमा एउटा ठूलो पीपलको रुखजस्तै भएर झाङ्गिन्छ, जसलाई केही आयामिक दृष्टिले देहायबमोजिम विश्लेषण गर्न सकिन्छ।

प्लास्टिकजन्य वस्तु न्यूनीकरण गर्ने अभियान

सडक सरसफाइ गर्दा प्लास्टिकका झोला यत्रतत्र फालिएको पाउँछौँ । जथाभावी फालिएका झोलाहरु पुनः प्रयोग गर्नुपर्ने वा निश्चित माइक्रोनभन्दा कमका झोलाहरु प्रयोग गर्न नपाउने नियम बनाउनुपर्ने माग गर्दछ, सो बनाउन झकझकाउँछ । अझै गहिराइमा पुग्दा वातावरणसम्बन्धी ऐन–कानुनको पूर्ण परिपालना गर्नुपर्ने कुरालाई जोडदार तरिकाले उठाउँछ । घरबाटै झोला बोकेर बजार जानुपर्ने बानीको विकास गराउँछ । घरमा प्लास्टिकका सामना प्रयोगमा कमी ल्याई परम्परागत सामानको प्रयोगमा जोड दिनेलगायत पारिवारिक सभ्यताको पुनर्जागरणको शुरुवात गराउन मद्दत पु¥याउँछ । प्लास्टिकका गिलासमा तातो चिया पिउन बन्देज लगाउँछ । विवाह, पार्टीलगायतका कार्यक्रममा पत्रुस्तरका प्लास्टिकका झोला प्रयोगमा बन्देज लगाउँछ । यो अभियान नजिकैको तिलोत्तमा नगरपालिकाबाट सिक्न सकिन्छ ।

फोहोरको वर्गीकरण र सफा होटेल अभियान

कुहिने फोहोर र नकुहिने फोहोर अलग–अलग वर्गीकरण गर्नुपर्ने बाध्यकारी नियम, फोहोर वर्गीकरण अभियान, फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने परियोजना, नदीकिनारमा फोहोर नफाल्ने साथै नदी सफाइ अभियान शहरका कुनाकाप्चामा फोहोर नफाल्ने, फोहोरमैलासम्बन्धी कानुन कार्यान्वयनलगायत समुदायमा आधारित फोहोर व्यस्थापन पद्धति माग गर्दछ र यी काम सम्पन्न गर्नको लागि प्रेरित गर्दछ । यसको उदाहरणको लागि घोराही उपमहानगरपालिका र बर्दघाट नगरपालिकालाई लिन सकिन्छ ।

सरसफाइ अभियानको कुरा केवल सडकको मात्र होइन, होटल र रेस्टुरेन्टको सफाइ पनि हो । बाहिर चिटिक्क सजाइएका तर भित्र निकै फोहोर थुपारिएका होटलहरु, विभिन्न नामले ब्रान्डिङ गरिएका मिठाईहरु, नास्ता पसल, होटलले खुवाउने खानाको गुणस्तरलगायत नागरिकको स्वास्थ्यसँग जोडिएका सयौँ विषयहरुलाई सानो अभियानले ठीक ठाउँमा ल्याउन सक्छ । होटलमा प्रयोग गरिएका बालश्रमिकहरुको अनुगमनलाई समेत यो सरसफाइ अभियानले तानेको छ ।

एक घर दुई बिरुवा अभियान

यो अभियानले सरसफाइका अतिरिक्त हरियाली प्रवद्र्धन कार्यक्रमलाई समेत उच्च महत्व राख्छ । स्थानीय सरकारले केवल नीतिगत स्पष्टता र विकासको बलियो दृष्टिकोण निर्माण गर्दा मात्र सानो लगानीले ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । एक घर दुई बिरुवा अभियानलाई घरको नक्सापासको प्रक्रिया शुरु हुने बेलामा अनिवार्य गर्दा सेवाग्राहीले आर्थिक दायित्व सृजना भएको महसुस पनि नगर्ने र प्रत्येक घरमा दुईवटा बिरुवा सजिलै हुर्कन सक्छन् । त्यसै गरी घरको अभिलेखीकरणको प्रक्रियामा समेत कुनै न कुनै एङ्गलबाट एक घर दुई बिरुवाको नीति लागू गराउन सकिन्छ । यो अभ्यास गरी आएको विषय पनि हो । आर्थिक क्रियाकलापसँग जोडिएका बिरुवा रोप्ने प्रबन्ध मिलाउन सकिन्छ । यसको लागि स्थानीय नेतृत्वको लगाव, सोच, इमानदार प्रयासको खाँचो रहन्छ ।

स्थानीय सरकारलाई समृद्व र भाइब्रेट बनाउनको लागि नगरले सिटी फ्लावर छनौट गरी प्रत्येक घरमा रोपण गर्न आह्वान गर्ने, यसो गर्दा प्रत्येक घरमा शहरको फूल लगाउँछन् । यसबाट हरियाली प्रवद्र्धन र शहरी सौन्दर्यकरण स्वतः झल्कन्छ ।

विशेष दिनमा वृक्षरोपण

आफन्तको जन्मदिन र म्यारिज एनिभर्सरीमा शुभकामना दिने नयाँ पुस्तलाई आफ्नो र परिवारको जन्मदिनमा एउटा बिरुवा रोप्ने अभियानमा आकर्षित गर्ने, अनिवार्य बनाउने, सहजीकरण गर्ने गरियो भने प्रत्येक वर्ष लाखौँ बिरुवा रोपिने हुन्छ । त्यसलाई स्याहारिन्छ र हुर्काइन्छ । यो कार्यक्रमले स्वतः हरियाली प्रवद्र्धनमा टेवा पु¥याउँछ नै।

स्थानीय सरकार मातहतका सबै सहकारी, संघ–संस्थाहरुले आफ्नो साधारणसभा र वार्षिक उत्सव मनाउँदा वृक्षरोपणलाई अनिवार्य गराउनुपर्ने हुन्छ । वार्षिक उत्सवको तामझामपूर्ण खर्चमा केही बिरुवा रोप्ने खर्च घुसाउँदा आर्थिक दायित्व बढेको महसुस पनि हुँदैन । स्थानीय सरकारको कामलाई टेवासमेत पुग्छ ।

जनप्रतिनिधिहरुले आफूले पदबहाली गरेको दिनको सम्झनामा वृक्षरोपण गर्ने परम्पराको थालनी गर्न यसले घचघच्याउँछ । जनप्रतिनिधिहरुले असल अभ्यासको थालनी गरेमा क्रमशः संस्थागत हुँदै जाने र वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्छ । तिलोत्तमाका पूर्वप्रमुख बासुदेव घिमिरेद्वारा यसको शुरुवात गरिएको थियो ।

आफ्नो विद्यालय परिसर वा खाली जमिन रहेको स्थानमा विद्यालयको व्यवस्थापनमा एक विद्यार्थी दुई बिरुवाको अभियान शुरु गर्न सकिन्छ । यसले विद्यार्थीलाई वातावरणप्रति सचेत रहने र वातावरणलाई माया गर्ने बानीको विकास गराउँछ । तिलोत्तमा नगरपालिकाको शान्ति नमुना माध्यमिक विद्यालयले यो अभियान शुरु गरेको थियो ।

मातापिताको सम्झनामा विभिन्न पुण्य कार्य गर्ने व्यक्तिहरुलाई लक्षित गरेर वृक्षरोपण अभियानमा जोड्नु पनि यो अभियानको अर्को दृष्टि हो । २०७४ मा घोराही उपमहानगरपालिकामा यो अभियान शुरु भएको हो । तर अभियानको रुपमा नभई कार्यक्रमको रुपमा सञ्चालन भएको हुँदा यो अपेक्षाकृत फैलिन सकेन । यद्यपि यो कार्यक्रमलाई अभियानको रुपमा लैजान सकिन्छ । घोराही उपमहानगरपालिकाद्वारा यो अभियान शुरु गरिएको थियो । सडकको दुवै किनारमा बिरुवा लगाउनका लागि कालोपत्रे वा सडक ग्राभेलकै बखत लागत अनुमानमा नै यो पनि समावेश गर्नुपर्छ । शहरलाई सुन्दर, सफा, हरियाली र मनमोहक बनाउने प्रमुख अस्त्र नै सरसफाइ, हरियाली र शहरी सौन्दर्यकरण हो । सडक निर्माण लागत अनुमान तयार गर्ने क्रममा नै बिरुवा रोप्ने कामलाई समेत लागत अनुमानमा समवेश गरी सोही अनुसार सम्पादन गर्ने प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।

यो काम बर्दघाट नगरपालिकाले नीतिगतरुपमा सम्बोधन गरेको छ । शायद आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान्छ होला । योभन्दा अगाडि घोराही उपमहानगरपालिकले प्रचलनमा ल्याएको थियो । सडकका वरिपरि बिरुवा रोप्ने, जोगाउने, हुर्काउने, पानी दिने र सम्भार गर्ने काम यो अभियानभित्र पर्दछ । यो अभियान घोराही उपमहानगरपालिकाले २०७४ मा सडक बोर्डका आयोजनाका हकमा अनिवार्य गरेको थियो ।

वातावरण–मैत्री स्थानीय शासन कार्यक्रमसँग तालमेल

विश्वसमुदाय जलवायु परिवर्तनको चपेटामा परिरहेको अवस्थालाई ध्यानमा राख्दै सरकारले वातावरण–मैत्री स्थानीय शासन कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमको माइलस्टोनको रुपमा नगर सफाइ कार्यक्रमका बहुआयामिक अभियानहरु पर्दछन् । यो कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्दछ भन्ने माग यो अभियानले राख्छ ।

बर्दघाटको अभ्यास

स्थानीय सरकारको एकल प्रयास र लगावले मात्र अपेक्षाकृत नजिता हासिल गर्न सकिँदैन । अपेक्षाकृत नजिता प्राप्तिका लागि शासन व्यवस्थापन तीनवटा क्षेत्रको हिस्सेदारी र साझेदारी आवश्यक मानिन्छ । सरकार, निजी क्षेत्र र सामाजिक क्षेत्रलाई विकासका विभिन्न आयामहरुमा सहभागिता गर्दै लैजाने मनसायका साथ गत भदौदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियानको शुरुवात बाग्मती सरसफाइ महाअभियानका प्रणेता डा. राजु अधिकारीको प्रमुख उपस्थितिमा नगरलाई विभिन्न क्लस्टरमा विभाजन गरी यो अभियानको घोषणा गरिएबमोजिम अहिले विभिन्न तह र तप्कामा यो अभियान जारी रहेको छ । यसका विभिन्न आयामहरुलाई केलाउने र अभ्यास गर्ने क्रममा रहेका छौँ । बर्दघाट बजार विकास समितिको अगुवाइमा कुहिने फोहोर र नकुहिने फोहोर वर्गीकरणको अभियान नै चलेको छ । यसले राम्रो नतिजा दिइरहेको छ । यद्यपि यसलाई अझै गहिराइसम्म पु¥याउन उहाँहरु लागिरहनु भएको छ ।

शिक्षा शाखाको अगुवाइमा ‘हाम्रो विद्यालयको सुन्दरता र सरसफाइका लागि हरेक दिन मेरो २ मिनेट’ अभियान चलिरहेको छ । यो अभियान अन्तर्गत जो कोही व्यक्ति पनि विद्यालय परिसरभित्र छिर्दा अनिवार्यरुपमा २ मिनेट विद्यालयको सरसफाइ र हरियाली प्रवद्र्धनमा जुट्नुपर्ने सर्कुलर भएको छ र सो अनुसार अभ्यास पनि गरिँदै आइएको छ । स्वास्थ्य शाखाले समेत हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सबै स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगर सरसफाइ र हरियाली प्रवद्र्धन कुनै कार्यक्रम होइन । यो अभियान हो । अभियान भनेकै निरन्तर चलिरहने, निरन्तर गरिरहने, समुदायका विभिन्न कामहरुलाई यससँग जोड्दै जाने, जोडिँदै लैजाने अविराम अभियान हो । यो दिल र दिमागको संयोजन हो । यसले व्यक्ति र समाजमा रहेको घमण्ड र अभिमानलाई तोड्न, झुक्न र निहुँरिन सिकाउने काम गर्दछ । आफूले सिन्को नभाँच्ने अरुलाई गाली गर्ने, केरा खाएर बाटोमा फाल्ने र सरकारलाई गाली गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी समाज रुपान्तरणको लागि अग्रसर हुन दायित्वबोध गराउने कामको थालनी हो ।

स्थानीय सरकारलाई सामाजिक रुपान्तरण गर्ने कामको प्रस्थान विन्दु हो । आफू परिवर्तन भएर संसार परिवर्तनको लागि आह्वान गर्ने पद्धति हो । यो अभियान त्यस्तो पुण्य काम हो । सारमा चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड हो यो अभियान ।

(लेखक सापकोटा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्