१ सय ३१ मै जीवन बीमा



स्याङ्जा । 

नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन लघु जीवन बीमा कम्पनीले १ सय ३१ रुपैंयामा नै जीवन बीमा गर्ने भएको छ । कम्पनीले वार्षिक १ सय ३१ रुपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी गराएको छ ।

यस कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो नयाँ शाखा खोलेको छ । न्यून आय भएका व्यक्ति, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग , श्रमिक वर्ग लगायतका नागरिकहरुलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यले स्थापित लघु बीमा कम्पनीले आफ्नो तेस्रो शाखाको रुपमा पुतलीबजार शाखा संचालनमा ल्याएको हो ।

पुतलीबजार शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरुप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख रेग्मीले कम्पनीको लक्ष्य हासिल गर्नको लागि पालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्षित वर्ग लाभान्वित हुने तरिकाले काम गरेमा पालिकाले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

नगर उपप्रमुख देवी अर्यालले लघु बीमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित समुदाय सम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उहाँको सुझाव छ । निम्न तथा मध्यम वर्गीय समुदाय लाभान्वित हुने गरि काम गरे पुतलीबजार नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।

कम्पनीका मार्केटिङ प्रमुख कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका, न्यून आय भएका व्यक्ति, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताउनुभयो । ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै देवकोटाले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने बताउनुभयो । देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिनुभयो । डिजिटल प्रविधिको प्रयोग गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताउँदै भण्डारीले कम्पनीमा दाबी फर्छ्योट एवं भुक्तानी प्रक्रिया एकदमै सजिलो र झन्झटरहित रहेको बताउनुभयो ।

कम्पनीको शाखा उद्घाटन कार्यक्रममा स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ्ग, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष संघ ताम्राकार, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा लगायतले जीवन बीमाको फाइदाका बारेमा बोल्नुभएको थियो। कार्यक्रममा पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि, उद्योगी व्यवसायीहरु, सहकारीकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्