स्वास्थ्यलाई पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे 

0
Shares

लमजुङ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्दै आएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यसहित प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उनको भनाइ छ ।

प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले आफू सरकारको नेतृत्वमा आएपछि साढे तीन वर्षको अवधिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने भए पनि संघ र प्रदेश सरकारले उक्त लक्ष्य हासिल गर्न नसकेको उनले उल्लेख गरे । गण्डकी प्रदेश सरकारले भने निरन्तर उक्त मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।

सीमित स्रोतसाधन र असीमित आवश्यकताबीच उपलब्ध स्रोतको उचित व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रमा लगानी भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । अस्पतालमा भवन, उपकरण तथा दक्ष जनशक्ति थप गर्नुपर्ने माग स्वाभाविक रहेको उल्लेख गर्दै उनले जिल्लाका जनप्रतिनिधि र अस्पताल व्यवस्थापनले उठाएका आवश्यकताहरुलाई गम्भीरतापूर्वक लिएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व वन तथा वातावरण मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, पूर्व स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङ, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्का र अस्पतालका पूर्व अध्यक्ष हरिजंग तामाङलगायतले शुभकामना मन्तव्य राख्दै अस्पतालको सेवा विस्तार, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा जोड दिएका थिए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, उपलब्ध स्वास्थ्य सेवा तथा हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए ।

वार्षिकोत्सवका अवसरमा अस्पतालले हालसम्म हासिल गरेका उपलब्धि, स्वास्थ्य सेवामा पु¥याएको योगदान तथा आगामी योजनाबारे चर्चा गरिएको थियो । अस्पतालका सदस्य जुन तामाङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन अस्पतालकी नर्सिङ प्रमुख अञ्जना पौडेल र मेडिकल रेकर्ड र सुपरभाइजर पुरुषोत्तम घिमिरेले गरेका थिए ।