चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका वन्यजन्तु अवलोकन गर्ने आकर्षण बढ्दै जाँदा निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा घुमफिर गर्ने प्रवृत्ति बढ्नु र विदेशी पर्यटकको आकर्षण पनि चितवनतर्फ बढ्दै जानुले पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको निकुञ्जले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वनमा ८४ हजार ५४ जना पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ हजार २१२ ले बढी हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार साउनदेखि हालसम्म भ्रमण गर्ने पर्यटकमध्ये ४५ हजार ३६८ नेपाली, तीन हजार ७८७ सार्क राष्ट्रका र ३४ हजार ८९९ अन्य विदेशी पर्यटक रहेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ६७ हजार ८४२ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । त्यतिबेला नेपाली पर्यटकको सङ्ख्या ३९ हजार ७०४, सार्क मुलुकका तीन हजार ३५२ र अन्य विदेशी पर्यटकको सङ्ख्या २४ हजार ७८६ रहेको थियो ।
गत आर्थिक वर्षभरि भने दुई लाख ७२ हजार ९२३ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । पछिल्लो तथ्याङ्कले चालु आर्थिक वर्षमा पर्यटक आगमन अझै बढ्ने सङ्केत गरेको छ ।
पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निकुञ्जले विभिन्न शीर्षकबाट १० करोड छ लाख चार हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
तिवारीका अनुसार कुल राजस्वमध्ये पर्यापर्यटन क्षेत्रबाट मात्रै नौ करोड ७३ लाख १६ हजार ५०० रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, गैरकाष्ठ वन पैदावार बिक्रीबाट १८ लाख १३ हजार १८१ रुपैयाँ, काठ तथा दाउरा बिक्रीबाट २८ हजार ६५५ रुपैयाँ र दण्ड सजायबाट दुई लाख १३ हजार ३०० रुपैयाँ सङ्कलन भएको छ ।
अन्य शीर्षक तथा बेरुजुसमेत गरी १२ लाख ३२ हजार ७०० रुपैयाँ राजस्व प्राप्त भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा निकुञ्जले कुल ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षको सुरुआती चार महिनामै भएको राजस्व सङ्कलनले निकुञ्जको आम्दानीमा पर्यापर्यटनको महत्त्वपूर्ण योगदान रहेको देखाएको छ ।








तपाईंको विचार लेख्नुहोस्