नेपालका ३ स्थानमा भारतको कत्थक नृत्य



नेपाल संगीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी कत्थक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा राजधानीबाट कत्थक नृत्यको कार्यक्रम आरम्भ भएको छ।

तीन सदस्यीय कत्थक नृत्य समूहले बुधबार विराटनगरस्थित आरोहण गुरुकुल र बिहीबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा प्रस्तुति दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय मुम्बई, भारत निवासी नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ कथक नृत्यको मनमोहक प्रस्तुति प्रस्तुत गरिएको थियो। उनलाई युवा कलाकार सुरवी स्रिन्ते र रसिका गांगलले नृत्यमा साथ दिएका थिए।

कुलपति निशा शर्माले सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन संयुक्तरूपमा आयोजित कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा. आसवरी बापटले कार्यक्रमले संस्कृतिले भाइचारा र मेलमिलाप सिकाउने जनाए।

प्रतिक्रिया दिनुहोस्