५ भाषामा मोनालिसा ब्लडी लभ


नेपाल र भारतका फिल्मकर्मी तथा निर्माण संस्थाको सहकार्यमा निर्माण हुने फिल्म मोनालिसा ब्लडी लभको फस्र्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ। वल्र्ड अफ मोनालिसा शीर्षकमा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्ने फिल्म अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको छ। किङ योगीको लेखन तथा निर्देशन रहने फिल्ममा फिल्म पत्रकार सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्।

नेपाल र भारतको संयुक्त सहकार्यमा निर्माण हुने फिल्म को पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको निर्माण पक्षले जनाएको छ। आगामी असारदेखि छायाँकन सुरु हुने फिल्मको ३० प्रतिशत छायाँकन नेपाल र बाँकी भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत महत्वपूर्ण दृश्य छायाँकन गर्ने योजना निर्माण पक्षको छ।

फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारले अभिनय गर्नेछन्।फिल्म नेपाली र हिन्दीसहित ५ भाषामा रिलिज गरिने जनाइएको छ।