एनआरएनएको ११औं महाधिवेशन असोज ३० मा



काठमाडौं । शेष घले समूहलाई बाहिरै राखेर आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा ११ औँ महाधिवेशन र विश्व ज्ञान सम्मेलन हुने भएको छ ।

२ वर्षको अन्तरालमा काठमाडौंमा हुँदै आएको १० औं सम्मेलन विभिन्न गुट उपगुटका कारण हुन सकेन । यसपाली भने शेष घले समूहलाई बाहिर राखेर ८६ देशमा सदस्य रहेको एनआरएनएले ११ औं महाधिवेशनको आयोजना गर्न लागेको हो ।

यसअघि विश्व सम्मेलनको २ वर्षपछि मात्र ज्ञान सम्मेलन हुँदै आइरहेकोमा यस वर्षबाट भने एकैपटक दुइटै सम्मेलन गर्न लागिएको एनआरएनएले जनाएको छ ।

एनआरएनए कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतका अनुसार एनआरएनएको ११औं सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन मध्याह्नबाट ज्ञान सम्मेलन पनि हुने उहाँले बताउनुभयोे ।

यसै गरी कात्तिक १ गतेसम्म ज्ञान सम्मेलन र २ गते एनआरएनएको नयाँ कार्यसमितिको लागि निर्वाचनको कार्यतालिका रहेको छ । निर्वाचनका लागि यसै वर्षदेखि स्वदेश र विदेशका मतदातालाई अनलाइनबाट भोटिङ गर्ने व्यवस्था गरिएको छ ।

अन्तिम दिन ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट महाधिवेशनको समापन हुने बताइएको छ ।

–महाधिवेशन र विश्व ज्ञान सम्मेलन एकैपटक हुने
–शेष घले समूह बाहिर
–अध्यक्षमा ४ जनाको उम्मेदवारी

नेपालमा लगानीका सम्भावित स्थान, व्यवसायिक संस्थाहरूको भूमिकालगायत विषयमा छलफल गर्न डा. राजु अधिकारीको संयोजकत्वमा एउटा समिति बनेको छ । उक्त समितिले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघलगायत संघसस्थासँग सामूहिक छलफल गराउने छ ।

सन् २००३ मा गैरराजनीतिक संगठनको रूपमा स्थापना भएको एनआरएनएमा अध्यक्षका उम्मेदवार आर.के. शर्मा, महेश श्रेष्ठ, डा. बद्री केसी, सविना थापा राजनीतिक दलसँग जोडिएका छन् । विनय अधिकरीले पनि अध्यक्षको उम्मेदवारी दिने जनाउनुभएको छ । नवौं सम्मेलनमा राजनीतिक दबदबा भएपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले विश्व सम्मेलन बहिस्कार गर्नुभएको थियो । गैरराजनीतिक संगठनमा राजनीति हाबी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायाँमा पर्नसक्ने भन्दै संघमा राजनीति मिसाउन नहुने संघका पदाधिकारीको तर्क रहँदै आएको छ ।

अध्यक्षका दाबेदार महेश श्रेष्ठ प्यानलको महासचिवमा बुद्धि सुवेदी र डा.बद्री केसी समूहको प्यालनमा गौरीराज जोशीले उम्मेदवारी दिएको एनआरएनए कार्यालयले जनाएको छ । यसअघि मतदाता संख्याको विषयलाई लिएर १० औं सम्मेलन हुन नसकेपछि कुल आचार्य, सविना थापा, डा.बद्री केसी र कुल आचार्यले ६÷६ महिना बाँडीचुडी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

नवौं सम्मेलनमा राजनीतिक दबदबा भएपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले विश्व सम्मेलन बहिष्कार गर्नुभएको थियो । गैरराजनीतिक संगठनमा राजनीति हाबी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायाँमा पर्नसक्ने भन्दै संघमा राजनीति मिसाउन नहुने संघका पदाधिकारीको तर्क रहँदै आएको छ ।

यसै गरी असन्तुष्ट भनेर छुट्टै कार्यालय बनाएका शेष घले समूहले आगामी फागुन १८ र १९ सम्मेलन गर्ने प्रमुख कार्यकारी अधिकृत राजेश रानाले बताउनुभयो ।

अहिले ६९ देशमा राष्ट्रिय समन्वयको चुनाव गरेको दाबी गर्ने एनआरएनएले सम्मेलनका लागि परराष्ट्र मन्त्रीको संयोजकत्वमा आयोजक कमिटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्