काठमाडौँ ।
सरकारी अभिलेखमै कीर्ते गरेर वास्तविक जग्गाधनीको ११ कठ्ठा २ धुर जग्गा भूमाफिया र मालपोतका कर्मचारीले अर्काको नाममा दर्ता गरी बेचबिखन गरेको पाइएको छ ।
सर्लाहीको साविक सोकनाहा गाविसस्थित जग्गा हडप्ने योजनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सो स्थिति बाहिर आएको हो । सो स्थानको कित्ता नम्बर ६२ को ०–११–२ (० विघा ११ कठ्ठा २ धुर) क्षेत्रफल भएको जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो । तर, भूमाफिया र मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा कुनै पनि समयमा हकभोग नै नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा सो जग्गा रहेको झुट्टा व्यहोरा खडा गरिएको थियो ।
कार्यालयमा रहेको स्रेस्ता विवरण सच्याई एउटा व्यक्तिको नामको जग्गा अर्को व्यक्तिको नाममा कायम गरेर फर्जी पुर्जा बनाई बेचबिखन गरिएको उजुरी परेपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कर्मचारी र भूमाफियाको आपसी मिलेमतोमा आफूहरूलाई गैरकानुनी लाभ पुर्याउने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्याउने बदनियत देखिएको अख्तियारका प्रवक्ता पर्वत गिरीले जानकारी दिनुभयो ।
वास्तविक तथ्यहरू लुकाई–छिपाई हुँदै नभएको जग्गाधनी खडा गरेर किशोरी धामी थारूको नाममा दाखिल खारेज गरी गलत लिखत तयार पारिएको तथा सरकारी निकायको कागजात अनधिकृत रूपमा थपघट र हेरफेर गरिएको पुष्टि भएको छ ।
अख्तियारले त्यसमा संलग्न हुने व्यक्तिहरुको विरुद्धमा बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सो कार्यमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै अख्तियारले मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेशकुमार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी लिएको छ ।
त्यसैगरी गलत विवरणको आधारमा सिफारिस दिने कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ का तत्कालीन वडासचिव रामगुलाम रायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम तथा सोही वडाका तत्कालीन वडाअध्यक्ष कपिलेदेव चौधरीविरुद्ध दफा ९ र दफा ११ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।
गैरकानुनी रूपमा जग्गा आफ्नो नाममा पार्ने किशोरी धामी थारू र सो जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचार जन्य कार्यको मतियार भएको अभियोग लगाइएको छ । उनीहरू दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह नै कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबी लिइएको आयोगका सहायक प्रवक्ता गिरीले जानकारी दिनुभयो ।








तपाईंको विचार लेख्नुहोस्