संयुक्त दूरदृष्टि दस्ताबेज इपिजीको विकल्प हो कि नयाँ आधार?

नयाँ सहमतिले ओझेलमा परेको इपिजी प्रतिवेदनका विषयलाई कसरी गर्छ सम्बोधन ?


काठमाडौँ ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासहित प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सम्पन्न भएको छ । भ्रमणपछि जारी संयुक्त दूरदृष्टि दस्ताबेजमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित पुराना सम्झौता आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने उल्लेख छ ।

तर दुई देशको सहमतिमा गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन भारतले औपचारिक रूपमा ग्रहण नगरेको अवस्थामा नयाँ दस्ताबेजले त्यसले उठाएका विषयलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न उठेको छ ।

सन् २०१६ मा नेपाल र भारतको सहमतिमा गठन भएको इपिजीले दुई वर्ष लगाएर द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गरेको थियो । सन् १९५० को सन्धि, सीमा, व्यापार, पारवहन, जलस्रोत र सुरक्षालगायतका विषय समेटेर सन् २०१८ मा प्रतिवेदन तयार पारिए पनि भारतीय प्रधानमन्त्रीको अनिच्छाका कारण त्यो प्रतिवेदन दुवैै देशका प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा प्रस्तुत हुन सकेको छैन । उक्त प्रतिवेदन थन्किएर बसेको झण्डै ८ वर्षपछि हालै प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै भारतीय परराष्ट्र सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा इपिजी प्रतिवेदनलाई विगतको विषय भन्दै अब भविष्यतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । यता नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भने इपिजीले सम्बोधन गर्न खोजेका विषय नयाँ संयुक्त दृष्टि दस्ताबेजमा समेटिएको बताउनुभयो ।

यहीँबाट नयाँ दस्ताबेजको वास्तविक अर्थबारे प्रश्न सुरु हुन्छ । के संयुक्त दूरदृष्टि दस्ताबेजले इपिजी प्रतिवेदनले उठाएका विषयलाई अघि बढाउने नयाँ राजनीतिक आधार दिएको हो, वा प्रतिवेदनलाई पन्छाएर दुई देशले अर्काे बाटो रोजेका हुन् ? यस सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनालको यसअघिको भारत भ्रमणका क्रममा व्यक्त ‘पुरानो बोझ बोक्दैनौँ’ भन्ने अभिव्यक्ति पनि सान्दर्भिक देखिन्छ ।

विगतको राजनीतिक ध्रुवीकरण र परराष्ट्र सम्बन्धको आन्तरिक राजनीतिक उपयोगबाट मुक्त हुने आशयमा उक्त अभिव्यक्ति दिएको उहाँको स्पष्टीकरण छ । तर राज्यका अघिल्ला सरकारहरूले उठाएका सन्धि, सीमा र राष्ट्रिय हितका सवाललाई नयाँ सरकारले कसरी निरन्तरता दिन्छ भन्ने प्रश्न भने बाँकी छ ।

संयुक्त दूरदृष्टि दस्ताबेजमा विद्यमान द्विपक्षीय सम्झौता, सन् १९५० को सन्धिसमेत, आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिने उल्लेख छ । जलस्रोत, ऊर्जा, व्यापार तथा सीमासम्बन्धी बाँकी विषय संवादबाट समाधान गर्ने प्रतिबद्धता पनि गरिएको छ । यसले नेपालले लामो समयदेखि उठाउँदै आएको सन्धि पुनरवलोकनको विषयलाई फेरि द्विपक्षीय सहमतिको दायरामा ल्याएको छ ।

तर इपिजी प्रतिवेदन र संयुक्त दूरदृष्टि दस्ताबेजको प्रकृति फरक छ । इपिजी दुवै देशका विज्ञ सम्मिलित समूहले तयार पारेको सम्बन्धको विस्तृत समीक्षा हो भने संयुक्त दूरदृष्टि दस्ताबेज दुई सरकारबीचको राजनीतिक प्रतिबद्धता हो । नयाँ दस्ताबेजले इपिजी प्रतिवेदनलाई प्रतिस्थापन गरेको वा त्यसका सुझाव स्वीकार गरेको स्पष्ट उल्लेख छैन । इपिजीका नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापा र सदस्य–सचिव यादव खनालले गत जेठ २१ गते (सन् २०२६ जुन ४) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्रसचिव अमृतबहादुर राईलाई उक्त दराजको चाबी बुझाउनुभएको थियो ।

डा. थापाले आफ्नो बढ्दो उमेर र कमजोर स्वास्थ्य अवस्थाका कारण लामो समयदेखि आफूसँग रहेको उक्त दस्ताबेजको सुरक्षा र जिम्मेवारी संस्थागत रूपमा सरकारलाई सुम्पिएको बताउनुभएको थियो । औपचारिक रूपमा दुवै देशका सरकारलाई हस्तान्तरण गर्न बाँकी रहेको इपिजी प्रतिवेदनले उठाएका विषयलाई कुन प्रक्रिया र संयन्त्रबाट अघि बढाइने भन्ने संयुक्त दस्ताबेजमा स्पष्ट उल्लेख छैन ।

इपिजी सदस्य तथा पूर्वराजदूत नीलाम्बर आचार्यले भारतीय प्रधानमन्त्रीले प्रतिवेदन ग्रहण नगर्दैमा त्यसको सान्दर्भिकता समाप्त नहुने बताउँदै आउनुभएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रतिवेदनका सुझाव स्वीकार्य नभए नयाँ संयन्त्र बनाउन सकिने, तर लामो समयदेखि थाती रहेका विषयलाई बेवास्ता गर्न नमिल्ने धारणा राख्दै आउनुभएको छ ।

संयुक्त दूरदृष्टि दस्ताबेजमा सीमा समस्याको समाधानका लागि आवश्यक काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ । सीमा स्तम्भको संयुक्त निरीक्षण र मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरिएको छ । तर लिपुलेकबारे प्रधानमन्त्रीस्तरको वार्तामा छलफल नभएको भारतीय परराष्ट्र सचिव मिश्रीको भनाइले सीमा विवाद समाधानको प्रतिबद्धता र नेपालको विशिष्ट क्षेत्रीय चासोबीचको दूरी पनि देखाएको छ ।

परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल तथा अनुभवी कूटनीतिज्ञ गोपाल बहादुर थापाले संयुक्त दस्ताबेज दिग्भ्रमित गर्ने खालको भएको टिप्पणी गर्नुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले कालापानीको समस्यालाई सामान्य सीमा व्यवस्थापनको विषयमा सिमित गर्न नमिल्ने जिकिर गर्दै भन्नुभयो– ‘सीमा व्यवस्थापनसम्बन्धी सचिव स्तरको र प्राविधिक स्तरको संयन्त्र पहिले नै छ । फेरि बनाउनुको कुनै तुक छैन । यो दिगम्रमित गर्ने काम मात्रै हो ।’

सन् २०१४ मा पनि कालापानी र सुस्तालगायत सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवस्तरबाट काम अघि बढाउने सहमति भएको थियो । त्यसैले यसपटकको निर्देशनले पुरानै प्रतिबद्धतालाई दोहोर्‍याउने हो वा ठोस प्रक्रिया अघि बढाउने हो भन्ने प्रश्न महत्वपूर्ण छ ।
नयाँ दस्ताबेजले आर्थिक विकास, ऊर्जा, पूर्वाधार र हवाई सम्पर्क विस्तारमा सहकार्यका सम्भावना खोलेको छ । एकतर्फी रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति पनि भएको छ । तर विकास सहकार्यका नयाँ प्रतिबद्धतासँगै पुराना सन्धि र सीमा विवादमा पनि परिणाम देखिनु आवश्यक छ ।

नेपाल–भारत सम्बन्धलाई भविष्यतर्फ लैजाने प्रयास सकारात्मक भए पनि त्यसका लागि विगतका सहमति र असमझदारीलाई कसरी सम्बोधन गरिन्छ भन्ने स्पष्ट हुनुपर्छ । संयुक्त दूरदृष्टि दस्ताबेज इपिजी प्रतिवेदनको विकल्प हो वा त्यसले उठाएका विषयलाई अघि बढाउने नयाँ आधार हो, यसमा सरकार आफैँ स्पष्ट हुनु जरुरी त छँदैछ, साथसाथै यसलाई कुटनीतिक तहमा पनि स्पष्ट पार्नु जरुरी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।