भारत भ्रमणदेखि लोकतन्त्रसम्म ओलीको सरकारमाथि प्रहार

ईपीजीमा सरकारको अडानप्रति असन्तुष्टि, बालेनको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गर्दै सरकारको कूटनीतिक तयारी, राष्ट्रिय हितका मुद्दा र समसामयिक राजनीतिक घटनाक्रममाथि प्रश्न उठाउनुभएको छ ।

बिहीवार राजधानीमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्री शाहले विगतमा स्टन्टका लागि महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको तर भारत भ्रमणका क्रममा सीमा विवादको विषयसमेत नउठाएको आरोप लगाउनुभयो ।

भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दल र सरोकारवालासँग आवश्यक संवाद नगरेको भन्दै उहाँले २५ घण्टाका लागि गरिएको भ्रमणले राष्ट्रहितका विषयमा गम्भीर छलफल गर्ने अवसर गुमाएको बताउनुभयो । ‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले भन्नुभयो– ‘यसपालि भ्रमणमा केही पनि उपलब्धि भएन । भएका विषय विगतकै निरन्तरता मात्रै हुन् ।’

विगतमा जनकपुर र भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको सहायता नआएको उदाहरण दिँदै उहाँले यसपटक पनि आर्थिक तथा विकास सहायता आउने आशामा मख्ख नपर्न सचेत गराउनुभयो । नेपाल–भारत सम्बन्धका विषयमा ओलीले ईपीजी प्रतिवेदन, सन् १९५० को सन्धि, सीमा विवाद र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनलगायतका मुद्दामा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । ईपीजी दुई देशबीच सीमालगायतका विषयमा समझदारीपूर्वक अघि बढ्न गठन गरिएको संयन्त्र भएको उल्लेख गर्दै उहाँले त्यसलाई असान्दर्भिक बनाउने सरकारी प्रयासप्रति आपत्ति जनाउनुभयो ।

ओलीले आफूले एसपीपीको मस्यौदा तयार पारेर हस्ताक्षर गर्न तयार रहेको अवस्थामा त्यसलाई रोकिदिएको दाबीसमेत गर्नुभयो । भदौ २३ र २४ गतेका घटनापछि भएको सत्ता परिवर्तनबारे बोल्दै ओलीले आफू संवैधानिक प्रक्रियाबाट नभई ‘हुल्लडबाज’बाट अपदस्थ भएको आरोप लगाउनुभयो । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया, प्रतिनिधिसभा विघटन र अदालतमा विचाराधीन मुद्दाका संवैधानिक आधारमाथि पनि उहाँले प्रश्न उठाउनुभयो ।

न्यायपालिका र संवैधानिक अंगहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै ओलीले सरकारी प्रभावका कारण न्यायसम्पादनमा समस्या देखिएको संकेत गर्नुभयो । ‘अदालतको मान पीडितले मात्रै राखेर पुग्दैन, शासकले पनि मान राख्नुपर्छ’ –उहाँले भन्नुभयो ।

सरकारले प्रेसमाथि कडा व्यवहार गर्दा पनि प्रतिवाद कमजोर भएको टिप्पणी गर्दै उहाँले सञ्चारमाध्यममा प्रहरी प्रवेश गर्दा समेत पर्याप्त विरोध नभएको बताउनुभयो । लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा आवश्यक रहेको उहाँको भनाइ थियो । निर्वाचन खर्च घटाउनुपर्नेमा जोड दिनुभएका ओलीले स्थानीय तहको निर्वाचन निर्धारित समयमा हुनुपर्ने तथा स्थानीय र प्रदेश निर्वाचन एकैसाथ गर्न नसकिने अडान राख्नुभयो । संविधानको मर्मअनुसार निर्वाचन समयमै हुनुपर्ने भन्दै उहाँले लोकतान्त्रिक मान्यतामा सम्झौता गर्न नहुने बताउनुभयो ।

एमालेले ‘लोकतन्त्र फिर्ता’का लागि आन्दोलन आवश्यक रहेको तर्क गरे पनि लोकतन्त्र अहिले नरहेको हो भन्ने प्रश्नको स्पष्ट जवाफ भने दिनुभएन । पार्टीभित्रको अवस्थाबारे ओलीले केही अराजकता बढेको स्वीकार गर्दै पछिल्लो बैठकले पार्टीलाई सही बाटोमा फर्काएको दाबी गर्नुभयो । सम्पादकहरूले आफ्नो नेतृत्वको सान्दर्भिकतामाथि प्रश्न उठाउँदा उहाँले ट्रम्प र मोदीसमेत उमेरले आफूभन्दा कम नभएको उल्लेख गर्दै गलत नीति भए प्रमाणसहित प्रस्तुत गर्न चुनौती दिनुभयो ।

भेटघाटमा उपाध्यक्ष विष्ण्ॉ पौडेल र महासचिव शंकर पोखरेल अनुपस्थित भएपछि पत्रकारहरूले प्रश्न उठाएका थिए । त्यसप्रति ओलीले पार्टीमा धेरै नेता हुँदाहुँदै दुई जना मात्रै किन खोजिएको भन्दै प्रश्नले पार्टीभित्रको अन्तर्विरोधमा खेल्न खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।