धरान ।
छोराको असामयिक निधनको पीडालाई समाजमा ज्ञान र चेतना फैलाउने अभियानमा रूपान्तरण गर्दै धरानका पूर्णबहादुर गुरुङले ३५ वर्षदेखि विमल पुस्तकालय सञ्चालन गर्दै आउनुभएको छ । सडक दुर्घटनामा २० वर्ष नपुग्दै छोरा विमल गुरुङको निधन भएपछि उहाँले छोराको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गर्नुभएको हो ।
२०४८ साल जेठमा विमलको निधन भएपछि करिब छ महिनापछि पुस्तकालय स्थापना गरिएको पूर्णबहादुर बताउनुहुन्छ । छोराले रुचाएको साहित्य, पुस्तक र समाजसेवाको भावनालाई निरन्तरता दिने उद्देश्यले स्थापना गरिएको पुस्तकालय अहिले साहित्य, अध्ययन र सिर्जनाको साझा केन्द्र बनेको छ ।
विमल सानैदेखि साहित्यप्रति रुचि राख्थे । विशेषगरी कविता लेखनमा उनको गहिरो लगाव थियो । उनका कवितामा प्रगतिशील चेतना, सामाजिक असमानता, गरिबी, दु:ख र पीडामा बाँचेका मानिसका अनुभूति अभिव्यक्त हुन्थे । समाजमा कसैले दु:ख पाएको वा अभाव भोगेको देख्दा उनी सहयोग गर्न अघि सर्थे । माग्न आउनेलाई सहयोग गर्ने, विद्यालय जाने बालबालिकालाई चप्पल, जुत्ता र आवश्यक सामग्री उपलब्ध गराउने तथा भोकाएका मानिसलाई घरमै लगेर खाना खुवाउने उनको स्वभाव थियो ।
अध्ययनप्रति पनि उनको उत्तिकै लगाव थियो । पैसा हुँदा पुस्तक किन्ने र नहुँदा उधारोमा भए पनि पुस्तक ल्याएर पढ्ने गर्थे । कविता लेखनसँगै कथामा समेत रुचि राख्ने विमलको साहित्यिक यात्रा भने सडक दुर्घटनाका कारण अल्पायुमै टुंगियो । उनका सिर्जनालाई पाठकमाझ पुर्याउने उद्देश्यले पुस्तकालयले पहिलो काव्यसङ्ग्र्रह प्रकाशन गरेको थियो । त्यसपछि ‘आत्मघोषणा’ नामक दोस्रो काव्यसङ्ग्र्रह प्रकाशित भयो । दुवै कृतिका दुईवटा संस्करण प्रकाशित भइसकेका छन् । दोस्रो सङ्ग्र्रहमा समेटिन नसकेका रचनालाई पाठकमाझ ल्याउने उद्देश्यले ‘सहरको प्रजागमलता’ नामक तेस्रो कृति प्रकाशनको तयारी भइरहेको छ ।
विमलको स्मृतिमा पुस्तकालयले हरेक वर्ष राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष ३५औँ राष्ट्रिय कविता महोत्सव सम्पन्न गरेको पुस्तकालयले युवा पुस्तालाई साहित्यमा आकर्षित गर्न युवा कविता महोत्सवसमेत सुरु गरेको छ । नयाँ प्रतिभाको पहिचान र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
पुस्तकालयले साहित्यिक कृति पुरस्कार तथा सम्मानको व्यवस्थासमेत गरेको छ । पछिल्ला पाँच–छ वर्षदेखि प्रकाशित उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको पुस्तकालयले अधिकतम दुई लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गर्ने गरेको पूर्णबहादुरले जानकारी दिनुभयो । यस वर्ष राष्ट्रिय स्तरमा परिचित कवि तथा निबन्धकार भूपिन व्याकुल खड्कालाई सम्मान गरिएको छ ।
हाल पुस्तकालयमा नेपाली, अंग्रेजी, हिन्दी तथा विभिन्न भाषाका साहित्यिक, सांस्कृतिक र ज्ञानवर्धक गरी करिब १४ देखि १५ हजार पुस्तक सङ्ग्रहित छन् । देशका विभिन्न क्षेत्रका साहित्यकार, लेखक, शुभचिन्तक तथा सामाजिक व्यक्तित्वले उपलब्ध गराएका पुस्तकले पुस्तकालयको सङ्ग्र्रह विस्तार हुँदै गएको छ ।
आफ्नै भवन भए पनि पुस्तकालय सञ्चालन, पुस्तक सङ्ग्र्रह, साहित्यिक कार्यक्रम र पुरस्कार व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउनु चुनौतीपूर्ण रहेको गुरुङ बताउनुहुन्छ । व्यक्तिगत सम्पत्ति तथा अक्षयकोषको ब्याजबाट संस्था सञ्चालन गर्ने प्रयास हुँदै आए पनि बैंकको ब्याजदर घट्दा प्राप्त आम्दानीले सबै गतिविधि सञ्चालन गर्न कठिन हुँदै गएको छ ।
ब्रिटिस सेनामा सेवा गरेका पूर्णबहादुरले छोराको स्मृतिलाई संस्थागत गर्दै सुरु गर्नुभएको यो अभियान अहिले धरानको साहित्यिक तथा सांस्कृतिक पहिचान बनेको छ । छोराको सम्झनालाई आँसुमा मात्र सीमित नराखी हजारौँ पाठकसम्म पुस्तक पुर्याउने, नयाँ पुस्तालाई सिर्जनामा जोड्ने र साहित्यकारलाई सम्मान गर्ने माध्यम बनाउनु उहाँको विशिष्ट योगदान बनेको छ । विमल भौतिक रूपमा नरहे पनि उनका सिर्जना, विचार र नाममा स्थापित पुस्तकालयले उनलाई समाजमा जीवित राखेको छ ।








तपाईंको विचार लेख्नुहोस्