कामपाभित्रको सार्वजनिक शौचालयको अवस्था दयनीय

१६९ शौचालय, ११३ सञ्चालन, २१ हराए, १४ बन्द


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाभित्र १६९ वटा सार्वजनिक शौचालयमध्ये ११३ सञ्चालनमा रहनुले राजधानीमा सार्वजनिक शौचालयको अवस्था कति दयनीय छ भन्ने कुरा जानकारी हुन्छ । करिब ५० लाख जनसंख्या बसोबास गर्ने महानगरमा सार्वजनिक शौचालयको पहुँच अत्यन्तै न्युन देखिएको छ ।

सहरीक्षेत्र भ्रमणको क्रममा करिब ४० लाख जनताले सार्वजनिक शौचालय प्रयोगको गर्दाको अवस्था हेर्दा करिब ३ हजार ५ सय ३९ जनालाई एउटा मात्र शौचालयको पहँुच छ ।

महानगर सहरी योजना आयोगका सदस्य दामोदर गिरीको संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदनअनुसार महानगरपालिकाभित्र १६९ सार्वजनिक शौचालय रहेकामा ११३ वटा अर्थात् ६७ प्रतिशत मात्र नियमित सञ्चालनमा छन् । तीमध्ये ९ वटा आंशिक रूपमा सञ्चालन भैरहेको, १० वटा निर्माणाधीन, १४ वटा बन्द वा सञ्चालन नभएको र २ वटा प्रयोग गर्न अयोग्य देखिएको छ ।

२१ वटा शौचालयको सञ्चालन अवस्थाबारे भने महानगरपालिकालाई कुनै जानकारी छैन । आयोगका सदस्य गिरीका अनुसार ९८ वटा अर्थात् ५८ प्रतिशतमा शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै सुविधा छ ।

अपाङ्गता भएका व्यक्तिका पहुँचयुक्त सुविधा भएका शौचालयको संख्या १५ वटा छ । महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) का लागि आवश्यक सुविधा ३२ वटा शौचालयमा मात्र छ । सो तथ्याङ्कले देशकै सबैभन्दा ठुलो कामपाको शौचालयको अवस्था अत्यन्तै दयनीय देखिएको छ ।

शौचालयको भौतिक अवस्था विश्लेषण गर्दा ४६ वटा अर्थात् २७ प्रतिशत शौचालय मात्र राम्रो अवस्थामा रहेका छन् । सामान्य मर्मत आवश्यक पर्ने शौचालयको संख्या ५३ छ । ३३ वटा मर्मत र स्तरोन्नति गर्नुपर्ने अवस्थामा छन् ।

शौचालयमा पानीको पर्याप्तता हुनु मात्र नभई नियमित सफाइ, दुर्गन्ध नियन्त्रण, साबुनको उपलब्धता, फोहर व्यवस्थापन र प्रयोगपछि सफा राख्ने प्रणालीसमेत प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ । आयोगले दिएको जानकारीअनुसार सार्वजनिक शौचालयमध्ये ७९ वटा अर्थात् ४७ प्रतिशत नि:शुल्क सञ्चालनमा भेटिए ।

अध्ययनले सार्वजनिक शौचालयको निर्माण तथा जग्गाको स्वामित्व, स्थानगत आवश्यकता पहिचान गर्दै नयाँ शौचालय निर्माणका लागि स्थान छनोट गर्दा जग्गाको उपलब्धता मात्र नभई पैदल तथा सवारी पहुँच, पानी, ढल निकास, प्रयोगकर्ताको चाप र सञ्चालनको सम्भाव्यतालाई आधार बनाउनुपर्ने अध्ययनले सुझाव दिएको छ ।

भित्री सहरी क्षेत्रहरू असन, न्युरोडलगायतका घना बजारक्षेत्रमा निजी घर, पसल तथा संस्थागत परिसरमा रहेका उपयुक्त शौचालयलाई भाडा वा सम्झौतामार्फत सार्वजनिक प्रयोगमा ल्याएर ‘पब्लिक ट्वाइलेट नेटवर्क’ विकास गर्न सकिने आयोगको सुझाव छ । सुझावलाई तत्काल, मध्यकाल र दीर्घकालमा सञ्चालन गर्ने गरी विभाजन गर्दै महानगरपालिकाले सुधारको काम थालेको छ ।

सार्वजनिक शौचालय आफैँ सञ्चालन गर्ने, सेवा बाह्य निकायलाई दिने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा अन्य उपयुक्त मोडेलका विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक भएको अध्ययनको निष्कर्ष छ । शौचालय नि:शुल्क वा सशुल्क सञ्चालन गर्ने सम्बन्धमा एकरूप नीति, सञ्चालनको जिम्मेवारी, मर्मतसम्भार र अनुगमनको संस्थागत व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।

नियमित सफाइ तथा पानी र साबुनको उपलब्धता, दुर्गन्ध नियन्त्रण, सुरक्षित भुइँ, पर्याप्त प्रकाश, सुरक्षित ढोका तथा चुकुल, महिला–पुरुषका छुट्टाछुट्टै सुविधा, अपाङ्गतामैत्री प्रवेशमार्ग, र्‍याम्प तथा ग्राबरेल, महिनावारी स्वच्छता व्यवस्थापन र हावा आवतजावतको व्यवस्था सार्वजनिक शौचालयका आधारभूत अंग हुन् ।

शौचालय सञ्चालनको समय, नियमित सफाई तालिका, मर्मत सम्भारको अभिलेख, जिम्मेवार निकायको पहिचान, पानी चुहावट नियन्त्रण, ढल तथा सेप्टिक ट्याङ्की व्यवस्थापन, प्रयोगकर्ताको गुनासो सुनुवाइ र नियमित अनुगमनलाई पनि न्यूनतम मापदण्डमा समेट्न आवश्यक देखिएको छ ।

२०८३ भदौ ३ गतेदेखि काम सुरु गरेको आयोगले अध्ययन प्रक्रियामा विद्यमान नीति, कानुन र संस्थागत व्यवस्थाको समीक्षा, एकीकृत अभिलेख तयारी, वडास्तरमा तथ्याङ्क प्रमाणीकरण तथा स्थलगत निरीक्षण गरेको थियो । तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप प्रयोग, स्थलगत टोली गठन र जीआईएसमा आधारित स्थानगत तथ्याङ्कसमेत तयार गरिएको अध्ययन छ ।

सार्वजनिक शौचालय नागरिकको आधारभूत सहरी सुविधासँग जोडिएको विषय हो । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घकालीन स्वास्थ्य समस्या भएका नागरिकका लागि सुरक्षित र पहुँचयुक्त शौचालयको उपलब्धता सार्वजनिक स्वास्थ्य, मर्यादा र समान अवसरसँग सम्बन्धित छ ।

अध्ययनले देखाएका तथ्याङ्क र सुधारका प्राथमिकताले महानगरपालिकालाई विद्यमान संरचनाको प्रभावकारी उपयोग, सेवाको गुणस्तर अभिवृद्धि र नयाँ शौचालय निर्माणको स्पष्ट कार्यदिशा तय गर्न आधार प्रदान गरेको छ । प्रतिवेदन ग्रहण गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले कामपाभित्र भएका सार्वजनिक शौचालयको उपलब्धतासँगै शौचालयभित्रका सुविधालाई अद्यावधिक गर्न निर्देशन दिनुभएको थियो ।

यो सेवालाई नागरिकले प्राप्त गर्नु पर्ने अनिवार्य, अत्यावश्यक र आधारभूत सेवाका रुपमा सञ्चालन गर्ने संयन्त्र निर्माणमा जोड दिँदै उहाँले स्वच्छ, सुरक्षित, व्यवस्थित, समावेशी र सबै नागरिकको पहुँच योग्य बनाउने कामलाई प्राथमिकता दिन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिनुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।