रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेस गर्न बिहीबार आदेश दिएको हो ।

अदालतले योगराज ढकालको कैद मिनाहा गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्न असोज २५ गते पूर्ण इजलास तोक्न आदेश दिएको थियो । २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ बुझाइसक्न सबै विपक्षीलाई आदेश गरेको थियो ।

असोज २५ गते हुने सुनुवाइमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई बहसका लागि उपस्थित हुन पनि सर्वोच्चको आदेशमा भनिएको छ । ‘प्रस्तुत निवेदनमा महन्यायाधिवक्ता स्वयं समेतलाई बहसमा उपस्थित हुनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउनू’ सर्वोच्चको आदेशमा भनिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहासम्बन्धी गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्चले मागेको छ । रिगलविरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले दिएको मुद्दा फिर्तासम्बन्धी आदेश र अरू सबै मुद्दाको मिसिल पनि मगाएको छ । त्यस्तै, मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।

रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए । २०७५ भदौअघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको छ । यही कानुनी आधारमा टेकेर सरकारले कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गर्नुभएको थियो ।

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको थियो । चेतनकी पत्नी भारतीले रिगलको कैद मिनाहा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले निवेदक भारती र उहाँको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ । त्यस्तै, रिगलविरुद्ध सर्वोच्च अदालतमा चलेको र पछि फिर्ता भएको मुद्दाको मिसिल र अरु कागजात अवलोकनका लागि पेस गर्न पनि आदेश दिएको छ ।

रिगलले २०७२ असार २८ गते नेपालगञ्जमा चेतनको हत्या गरेका थिए । हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । त्यसमा संलग्न रहेको भन्दै अन्य १२ जनालाई पनि ३ देखि १० वर्ष कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्