म्यार्दीखोला जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न



लमजुङ ।

लमजुङमा बनाउन लागिएको २७ दशमलव ५० मेगावाट क्षमताको म्यार्दीखोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ र मनाङको नासोङ गाउँपालिका–१ भएर बग्ने म्यार्दीखोलाको पानीबाट निर्माण गर्न लागिएको आयोजनाको शनिवार सार्वजनिक सुनुवाइ गरिएको हो ।

म्यार्दीखोला जलविद्युत आयोजनाको प्रस्तावकमा म्यार्दीखोला हाइड्रोपावर कम्पनी प्रा.लि. रहेको छ । म्यार्दीखोला जलविद्युत आयोजना लमजुङको मर्स्याङ्दी गाउँपालिकामा–४ र मनाङको नासोङ गाउँपालिका–१ मा प्रस्ताव गरिएको म्यार्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष हेमजंग गुरुङले जानकारी दिए  । प्रस्तावित आयोजना रन अफ दि रिभर प्रकृतिको रहने उनले बताए ।

प्रस्तावित आयोजनाको ग्रसहेड ८ सय ५२ मिटर, नेटरेटेड हेड ८ सय ४० दशमलव ५७ मिटर रहेको छ भने डिजाइन डिस्चार्ज ३ दशमलव ८६ घनमिटर प्रति सेकेण्ड रहेको छ । प्रस्तावित आयोजनाबाट औसत वार्षिक १ सय ६२ दशमलव ९४८ गिगावाट पावर (सुख्खा मौसमको ऊर्जा उत्पादन ५० दशमलव ८७ गिगावाट पावर र वर्षा यामको ऊर्जा उत्पादन १ सय १२ दशमलव शून्य ७८ गिगावाट पावर) ऊर्जा उत्पादन हुनेछ । डाइभर्जन वेयर, इन्टेक, एप्रोच क्यानल, डिसेन्डिङ बेसिन, हेडरेस टनेल, सर्ज ट्याङ्क, पेनस्टक, विद्युतगृह तथा टेलरेस आयोजनाका मुख्य संरचनाहरु हुन् । हेडरेस टनेलको लम्बाई करिब तीनहजार चारसय ५० मिटर तथा पेनस्टक पाइपको लम्बाई १ हजार ४ सय ४९ मिटर र आन्तरिक व्यास १ दशमलव ३५ मिटर रहेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युतलाई १३२ के.भी. प्रसारण लाइनबाट मनाङ हवमा जोडिनेछ । प्रसारण लाइनको लम्बाई १० कि.मी. रहेको छ । उक्त जलविद्युत आयोजनाबाट मर्स्याङ्दी गाउँपालिका–४ को २ हजार १ सय २५ जना र नासोङ गाउँपालिकाको १ हजार ६ सय ७१ घर–परिवार प्रभावित हुने अध्यक्ष गुरुङले बताए । आयोजना क्षेत्रको पानी भने कृषिजन्य क्षेत्रमा उपयोग गरिएको पाइएको छैन ।

म्यार्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष गुरुङको अध्यक्षता र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा मनाङ नासोङ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ, मर्स्याङ्दी वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, नासोङ १ का वडाध्यक्ष मिन राशी गुरुङ, उक्त वडाकै पूर्व वडाध्यक्ष झलक गुरुङ एक्याप कार्यालय मनाङका ढकबहादुर भुजेल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रमको स्थानीय सतिस गुरुङले सञ्चालन गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्