लमजुङमा जनतामाझ पुग्दै नेकपा

0
Shares


लमजुङ।

लमजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । देशव्यापी रुपमा कात्तिक ७ गतेदेखि सञ्चालन भएको अभियान लमजुङमा भने आइतबार कात्तिक १५ गतेदेखि सुरु गरिएको हो । मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत नेकपाले जनताका घरदैलोमा पुगेर उनीहरुका समस्या, गुनासा र आवश्यकता बुझ्ने जनाएको छ ।

राष्ट्रिय स्वाधीनताको रक्षा, जनजीविकाका सवालको सम्बोधन, जनअधिकारको संरक्षण तथा पार्टी संगठन सुदृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नेकपा लमजुङले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिँदै जिल्ला संयोजक सुनिल सुनार ‘अटल’ले मुलुकमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिति, युवा पलायन र आर्थिक संकटका कारण नागरिकमा निराशा बढ्दै गएको बताए । यस्तो अवस्थामा जनताका समस्या समाधानका लागि प्रभावकारी राजनीतिक पहल आवश्यक रहेको उनको भनाइ छ ।

अभियानका क्रममा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार, निष्क्रिय संगठनको पुनःसक्रियता, संगठनात्मक समायोजन र राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई प्राथमिकता दिइने संयोजक सुनारले बताए । पार्टीको आगामी महाधिवेशनको तयारीलाई समेत अभियानमार्फत तीव्रता दिइने उनले जानकारी दिए ।

नेकपाका जिल्ला इन्चार्ज रामबाबु अधिकारीले महँगी, बेरोजगारी, भ्रष्टाचार र बेथितिविरुद्ध जनआवाज संगठित गर्ने अभियानको उद्देश्य रहेको बताए । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता तथा सामाजिक न्यायका उपलब्धिको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, स्वतन्त्र परराष्ट्र नीति, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका विषयलाई समेत प्राथमिकताका साथ उठाइने उनले बताए ।

अभियानको मुख्य उद्देश्य जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या र गुनासा सुन्नु, समस्या पहिचान गरी अभिलेख राख्नु र समाधानका लागि सम्बन्धित निकायमा पहल गर्नु रहेको जिल्ला इन्चार्ज अधिकारीले बताए । विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका विषयलाई समेत अभियानमा समेटिने उनको भनाइ छ ।

पार्टीले अभियानलाई केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म सञ्चालन गर्ने जनाएको छ । यस क्रममा महिला, दलित, युवा, विद्यार्थी, श्रमिक, किसान, उत्पीडित वर्ग तथा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गरिनेछ । अभियानका गतिविधिलाई नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणालीमार्फत परिणाममुखी बनाउने पार्टीको योजना छ ।

नेकपा जिल्ला समिति लमजुङले अभियानमा सक्रिय सहभागिता र सहकार्यका लागि आम नागरिक, बुद्धिजीवी, नागरिक समाज, श्रमिक, किसान, दलित, युवा, विद्यार्थी, महिला तथा देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई आह्वान गरेको छ ।