लमजुङ।
लमजुङको बेसीशहर नगरपालिका–९ स्थित भाइरल बिम्दबेसी सडकमा पर्यटकको चहलपहल बढेसँगै फोहोर र असभ्य व्यवहार बढ्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । सडकको सौन्दर्य अवलोकन गर्न तथा टिकटक र फोटो खिच्न आउने पर्यटकले जथाभावी फोहोर फाल्ने, सडकका संरचना तोडफोड गर्ने र अश्लील शब्द प्रयोग गर्ने गरेको भन्दै स्थानीयले सरसफाइ र संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।
स्मार्ट भिलेज घलेगाउँ र भुजुङ जोड्ने हरित सडकअन्तर्गत पर्ने बिम्दबेसी सडक गत वर्ष मंसिरमा कालोपत्रे भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो । सडकको आकर्षक दृश्यका कारण दैनिक २५ देखि ३० जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पर्यटकको संख्या अझै बढ्ने गरेको स्थानीयको भनाइ छ । सडकको लोकप्रियताले गाउँको पहिचान बढाए पनि फोहोर व्यवस्थापन र सडक संरक्षणमा चुनौती थपिएको छ ।
स्थानीय प्रेमकुमारी गुरुङका अनुसार सडकमा टिकटक तथा फोटो खिच्न आउने पर्यटकले बाहिरबाट खानेकुरा र पेय पदार्थ ल्याएर चौतारामा खाने तथा प्लास्टिक, बोतललगायतका फोहोर जथाभावी फाल्ने गरेका छन् । सडकछेउका पोल उखेल्ने, ढुंगा खेतबारीमा फाल्ने तथा अश्लील शब्द प्रयोग गर्ने जस्ता गतिविधिले स्थानीयलाई असहज बनाएको उनले बताइन् । सडकको सुन्दरता र वातावरण जोगाउन तथा स्थानीयलाई सम्मानजनक व्यवहार गर्न उनले पर्यटकलाई आग्रह गरेकी छन् ।
त्यस्तै, स्थानीय बिना गुरुङले टिकटक तथा फोटो खिच्न आउने कतिपयले जंकफुड, चुरोट र मदिरा सेवन गरी बियरका सिसाका बोतल जथाभावी फाल्ने तथा फुटाउने गरेको बताइन् । फुटेका सिसा खेतबारीमा फैलिँदा खेतीपाती गर्न जाने स्थानीय तथा बालबालिकाको स्वास्थ्यमा जोखिम बढेको उनको भनाइ छ । उनले पर्यटकलाई आफूले ल्याएको फोहोर आफैँ व्यवस्थापन गर्न र वातावरण स्वच्छ राख्न अनुरोध गरेकी छन् ।
स्थानीय तुलबहादुर दुलालले सडक तथा आसपासका खेतबारीमा फोहोर थुप्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पर्यटकको चहलपहल बढे पनि फोहोर व्यवस्थापनको उचित व्यवस्था नहुँदा समस्या बढेको उनले बताए । उनले पर्यटकलाई फोहोर उचित स्थानमा व्यवस्थापन गर्न तथा सडकमा राखिएका युटर्न संकेत बोर्डलगायतका संरचना तोडफोड नगर्न आग्रह गरेका छन् ।
सडकको लोकप्रियता बढ्दै जाँदा यसको संरक्षण र सरसफाइमा स्थानीय तहको भूमिका पनि महत्वपूर्ण देखिएको छ । बेसीशहर नगरपालिका–९ का स्थानीयले सडकमा फोहोर व्यवस्थापनको उचित व्यवस्था गर्न तथा भाइरल सडक सफा राख्ने अभियान सञ्चालन गर्न स्थानीय निकायसँग आग्रह गरेका छन् ।
पर्यटनले गाउँ र सडकलाई चिनाउने अवसर प्रदान गरे पनि फोहोर र असभ्य व्यवहारले यसको सौन्दर्य तथा आकर्षणमा असर पार्न सक्छ । त्यसैले बिम्दबेसी सडक पुग्ने पर्यटकले मनोरञ्जनसँगै जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने देखिन्छ । सडकको सुन्दरता जोगाउनु, फोहोर व्यवस्थापन गर्नु र स्थानीयको सम्मान गर्नु सबैको साझा दायित्व हो ।











प्रतिक्रिया