कलमसँगै फूलको सुगन्धमा रमाउँदै लमजुङका तीन पत्रकार 

846
Shares

लमजुङ। 

पत्रकारितामार्फत समाजका कथा लेख्दै आएका तीन पत्रकार अहिले आफ्नै बारीमा सयपत्री फूलका कथा फुलाइरहेका छन् । समाचारका शब्दसँगै माटोमा पसिना बगाउँदै उनीहरूले व्यावसायिक फूल खेतीलाई आम्दानी र आत्मनिर्भरताको माध्यम बनाएका छन् ।

पत्रकारिता पेसा हो, समाजका गतिविधि नियाल्ने र तिनलाई शब्दमार्फत बाहिर ल्याउने माध्यम पनि । तर, लमजुङका तीन पत्रकारका लागि पत्रकारिता मात्रै परिचय बनेको छैन । उनीहरू कलमसँगै कृषि कर्ममा पनि उत्तिकै रमाइरहेका छन् । समाचार लेख्ने हातले माटो खोतलिरहेका छन्, समाजका सम्भावना खोज्ने आँखाले आफ्नै बारीमा नयाँ सम्भावना फुलाइरहेका छन् ।

पत्रकारिताको व्यस्त दैनिकीबीच उनीहरूले रोजेको कृषि कर्ममध्ये अहिले सयपत्री फूल खेती आकर्षणको केन्द्र बनेको छ । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका उनीहरूका बारीमा ढकमक्क फुलेका सयपत्रीले सुन्दरता मात्रै थपेका छैनन्, आम्दानीको बाटोसमेत खोलेका छन् ।

गोर्खापत्र राष्ट्रिय दैनिकका लमजुङ संवाददाता नवीन कुइकेलले मर्स्याङदी  गाउँपालिका–९ टारगाउँमा चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्दै आएका छन् । चारवटा टनेल निर्माण गरी मर्स्याङदी  कृषि फर्म’ सञ्चालन गरेका उनले विगत चार वर्षदेखि फूल खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

फूल खेतीमा चार वर्षको अनुभव बटुलिसकेका कुइकेलका लागि सयपत्री अब केवल रहरको खेती रहेन । यो उनको नियमित आम्दानीको स्रोतसमेत बनेको छ । उनका अनुसार फूलको मुख्य सिजनमा करिब एक हजार केजीसम्म सयपत्री उत्पादन तथा बिक्री हुने गरेको छ । सिजनमा फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । अफ सिजनमा समेत फूल खेतीबाट करिब ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको अनुभव छ ।

उनले उत्पादन गरेका फूल स्थानीय बजारसँगै जिल्लाका विभिन्न बजारमा पुग्ने गरेका छन् । बजारको मागअनुसार मेला, महोत्सव तथा विभिन्न सार्वजनिक कार्यक्रमका लागि समेत फूल बिक्री हुने गरेको छ । फूलको बजार खोज्न र बिक्री वितरण गर्न सके कृषि कर्मबाट राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ ।

कुइकेलको फूल खेतीबाट प्रभावित भएर वा बजारमा सम्भावना देखेर मात्रै होइन, आफ्नै कृषि उद्यमको खोजीमा अन्य पत्रकार पनि फूल खेतीमा जोडिएका छन्।

लमजुङ पत्र साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सन्तोष पौडेलले सुन्दरबजार नगरपालिका–४ सत्रसयमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । उनका लागि यो फूल खेतीको पहिलो वर्ष हो ।

बजारमा सयपत्री फूलको माग राम्रो देखेपछि खेती सुरु गरेको पौडेल बताउँछन् । पहिलो प्रयासमै फूल खेतीबाट सम्भावना देखेका उनले यस सिजनमा करिब ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् । उनले ‘संसार मौरी तथा कृषि फर्म’मार्फत फूल खेती गर्दै आएका छन् ।

त्यस्तै, लक्ष्मीनारायण एचडीका संवाददाता विराट न्यौपाने पनि फूल खेतीमा सक्रिय छन् । उनले समेत सुन्दरबजार नगरपालिका–४ सत्रसयमा एक रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेका छन् । न्यौपानेका लागि पनि यो पहिलो वर्षको अनुभव हो ।

सुरुवाती चरणमै रहेका न्यौपानेले बजारको मागलाई ध्यानमा राखेर आगामी दिनमा फूल खेती विस्तार गर्ने सोच बनाएका छन् । बजारमा माग राम्रो रहेमा अफ सिजनमा समेत फूल खेतीलाई निरन्तरता दिने उनको योजना छ । यस सिजनमा करिब ५० हजार रुपैयाँ आम्दानी हुने उनको अपेक्षा छ । उनले ‘विशाल अर्गानिक कृषि फर्म’मार्फत सयपत्री फूल खेती गर्दै आएका छन् ।

तीनै जना पत्रकारको कृषि कर्म सयपत्री फूलमा मात्रै सीमित छैन । उनीहरूले कागती, आँप, लिची खेतीसँगै मौरीपालन तथा विभिन्न प्रकारका तरकारी खेतीसमेत गर्दै आएका छन् । अर्थात्, उनीहरूका लागि कृषि कुनै एउटा बालीमा निर्भर रहने काम होइन, विभिन्न उत्पादनलाई जोडेर आम्दानीका अवसर सिर्जना गर्ने माध्यम पनि बनेको छ ।

पत्रकारिताको व्यस्तताका बीच कृषि कर्मलाई समय दिन सजिलो भने छैन । समाचार संकलन, लेखन र सञ्चारमाध्यमसँगको नियमित जिम्मेवारीसँगै खेतीपातीको कामलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, आफ्नै जमिनमा उत्पादन गर्नु, फूल फुलाउनु र त्यसलाई बजारसम्म पु¥याएर आम्दानी लिनुको अनुभवले उनीहरूलाई कृषि कर्मप्रति थप उत्साहित बनाएको छ ।

सयपत्री फूलको विशेषता नै यसको मौसमी माग हो । तिहार, विवाह, व्रतबन्ध, पूजा, मेला, महोत्सव तथा विभिन्न सार्वजनिक समारोहमा यसको प्रयोग व्यापक हुन्छ । पछिल्लो समय सजावट तथा अन्य कार्यक्रमहरूमा समेत फूलको प्रयोग बढ्दै जाँदा यसको व्यावसायिक खेतीमा सम्भावना देखिएको छ । स्थानीयस्तरमै उत्पादन हुन सके बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुग्न सक्छ।

तर, फूल खेतीमा सम्भावनासँगै चुनौती पनि छन् । उत्पादनको समय, बजारको माग, बिक्री वितरण र उचित मूल्य प्राप्ति किसानका लागि उत्तिकै महत्त्वपूर्ण विषय हुन् । सिजनमा एकैपटक उत्पादन हुने फूलको बजार व्यवस्थापन गर्न नसकिए अपेक्षित आम्दानी लिन कठिन हुन सक्छ । त्यसैले व्यावसायिक फूल खेतीका लागि उत्पादनसँगै बजारको सुनिश्चितता र योजनाबद्ध खेती आवश्यक देखिन्छ ।

लमजुङका यी तीन पत्रकारले सुरु गरेको प्रयासले एउटा सन्देश दिएको छ । कृषि कर्म कुनै एउटा पेसा वा वर्गका मानिसका लागि मात्रै सीमित छैन । इच्छाशक्ति, मेहनत र सम्भावनाको पहिचान गर्न सके जुनसुकै पेसामा आबद्ध व्यक्तिले पनि कृषि उद्यमलाई अघि बढाउन सक्छ । 

पत्रकारितामार्फत समाजका समस्या, सम्भावना र सफलताका कथा बाहिर ल्याउने उनीहरू अहिले आफ्नै कर्मबाट पनि उदाहरण प्रस्तुत गरिरहेका छन् । अरूका उद्यमशीलताका कथा लेख्ने उनीहरू आफैँ उद्यमी बनेका छन् ।

कलमले समाजका आवाज टिपिरहेका यी पत्रकारका बारीमा फुलेका सयपत्रीले अर्को कथा भनिरहेका छन । श्रमको सम्मान, उत्पादनको महत्त्व र आत्मनिर्भर बन्ने चाहनाको कथा ।

समाचार लेख्ने कलम र फूल फुलाउने माटोबीचको यही सम्बन्धले उनीहरूको परिचयलाई थप फराकिलो बनाएको छ । उनीहरूका लागि अब पत्रकारिता केवल सूचना सम्प्रेषणको माध्यम मात्र होइन, कृषि र उद्यमशीलताको सम्भावना पहिचान गर्ने प्रेरणासमेत बनेको छ ।

कलमले समाजका कथा लेख्ने र माटोले जीवनका सम्भावना फुलाउने यी तीन पत्रकारको प्रयासले लमजुङमा व्यावसायिक फूल खेतीप्रति नयाँ उत्साह थप्ने अपेक्षा गर्न सकिन्छ।