लमजुङमा दोस्रो भोटेओडार कप फुटबल प्रतियोगिता हुने

0
Shares

लमजुङ।

लमजुङको सुन्दरबजार नगरपालिको भोटेओडारमा दोस्रो भोटेओडार कप–२०८३ खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बुद्ध युथ क्लबको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको उद्घाटन मंसिर १९ गते शुक्रबार र फाइनल खेलसहित समापन समारोह मंसिर २६ गते शनिबार आयोजना गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा लमजुङसहित तनहुँ, कास्की, गोरखा, मनाङलगायत जिल्लाका उत्कृष्ट फुटबल टोलीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा एक टोलीमा १२ जना खेलाडी र एक जना टिम म्यानेजर रहने व्यवस्था गरिएको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने प्रति टोली प्रवेश शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही २५÷२५ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनाही १०÷ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरिनेछ । प्रतियोगिताको सुरुवाती चरणमा म्यान अफ दि म्याच हुने खेलाडीलाई १ हजार ५ सय र सेमिफाइनल पछिका खेलमा २ हजार ५ सय रुपैयाँसहित मेडल प्रदान गरिनेछ ।

स्थानीय तथा बाह्य खेलाडीबीच खेलकौशल आदानप्रदान, प्रतिभावान खेलाडीको पहिचान, युवामा खेलप्रतिको रुचि र सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगबहादुर (कालु) गुरुङले बताउनु भयो ।

प्रतियोगिताले भोटेओडार,सुन्दरबजार क्षेत्रको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै होटल, रेष्टुरेन्ट, यातायात र पसल व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न २१ लाख ५६ हजार ५ सय रुपैयाँ लाग्ने छ । यसका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी, सहकारी, समाजसेवी तथा खेलप्रेमीहरुलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।