नवौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस



हरेक वर्ष असोज १० गते मनाउँदै आएको नवौं राष्ट्रिय दिवस यस वर्ष पनि मनाइयो । ‘सुरक्षित गर्भपतन अधिकारको निम्ति ः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय’ भन्ने मूल नाराका साथ यस वर्षको यो दिवस मनाइएको हो ।

हामीले लामो संघर्ष गरेर २०४६ सालमा प्रजातन्त्रको स्थापना गरेपश्चात् नेपालमा सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, स्वतन्त्रता तथा विनाभेदभाव आत्मसम्मानपूर्वक बाँच्न पाउने हकलगायतका विभिन्न मानवअधिकारमुखी व्यवस्थाहरुलाई स्थापित गरेका थियौं । त्यसैको जगमा २०५९ साल असोज १० गते तत्कालीन मुलुकी ऐनको ११ औं संशोधनमार्फत महिलाहरुले गर्भपतन अधिकारको कानुनी प्रत्याभूति पाएका थिए ।

यही दिनको सम्झना गर्दे नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुसँग सहकार्य गर्दै विगत ९ वर्षदेखि असोज १० गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै आएको छ । यस अवसरमा म सम्पूर्ण देशवासी जनतामा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रजनन स्वास्थ्य महिलाको मानवअधिकार हो र सुरक्षित गर्भपतन प्रजनन स्वास्थ्यको एक अभिन्न अंग हो । यही विषयलाई हृदयंगम गरी प्रजनन स्वास्थ्य अधिकारसहित गर्भपतनको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा अंगिकार गरेको हो । यो हकको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य सेवा बनाउने अवधारणाका साथ सुरक्षित मातृत्व एवं प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ अनि सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन कार्यविधि २०७८ जारी गरी लागू भइसकेको छ ।

हामी लामो समयदेखि निरन्तररुपमा महिलाहरुको अधिकारको संर्घषमा समर्पित छौं र महिलाहरुको आत्मसम्मानसहितको सुरक्षित प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ तथा चिरस्थायी छ । हरेक नेपाली महिलाले यो अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण मशाशाखा गम्भीर भएर आफ्नो भूमिका निर्वाह गर्नेछ भनी यस दिवसमा प्रतिबद्धता प्रकट गर्न चाहन्छु । यसका साथै सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारीरुपमा सबैका लागि सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ग्रामीणस्तरसम्म सेवा विस्तार गर्न र कानुनी व्यवस्थाका बारेमा व्यापक जनचेतना जागृत गर्न पहल गर्नुपर्नेप्रति सबै जिम्मेवार हुनुपर्ने आजको आवश्यकता रहेको पनि मैले महसुस गरेको छु ।

यस्तै प्रजनन स्वास्थ्य अधिकार विशेष गरी गर्भपतन अधिकारको क्षेत्रमा नेपाल सरकारको संवैधानिक दायित्व, सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तहरु र नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेका प्रतिबद्धताहरु अनुरुप नेपाल सरकारबाट आगामी दिनहरुमा आवश्यक ऐन, नियमहरु परिमार्जन गर्न शुरुवात भइसकेको पनि जानकारी गराउन चाहन्छु ।

यसले नेपाली महिलाहरुले आफ्नो आधारभूत मानवअधिकारको अनुभूति गर्न पाउने र सुरक्षित गर्भपतन सेवाहरूमा महिलाहरुको सहज पहुँच सुनिश्चित गर्दै गर्भपतनको दायरालाई फराकिलो पारी पूर्णरुपमा निरापराधीकरण गर्न आवश्यक पहल गर्ने लक्ष्य राखेको जानकारी गराउन पाउँदा ज्यादै खुशी लागेको छ । यस अवसरमा यस क्षेत्रमा महत्वपूर्ण सहयोग गर्ने सेवाप्रदायक, स्वास्थ्य संस्था, संघसंस्थालगायतमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि पूर्ण सहयोगको कामना गर्दै पुनः एकपटक नवौं सुरक्षित गर्भपतन सेवा दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकाना व्यक्त गर्दछु ।

(लेखक स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्