सङ्घीयतामाथि प्रहार गर्ने प्रयत्न भइरहेको छ : पाण्डे

नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन म्याग्दीको बेनीमा सुरु 



म्याग्दी। 

 नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको छ । खासगरी १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील संस्था जेसीजको क्षेत्रीय सम्मेलन आयोजना गरिएको हो ।

१५ वर्षपछि पुनः म्याग्दी जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन म्याग्दीमा आयोजना गरिएको छ । यसअघि सन् २००७ मा पनि नेपाल जेसीजको क्षेत्रीय सम्मेलन म्याग्दीको बेनीमा सम्पन्न गरिएको थियो । सम्मेलनले म्याग्दीको आर्थिक विकाससँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


सम्मेलनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरेर झन्डै सातसय जना जेसीजकर्मीहरु बेनीमा जम्मा भएका छन् । सम्मेलनले म्याग्दी जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पु¥याउनेछ । यसका साथै जेसीज सदस्यहरुको क्षमता अभिवृद्धिसँगै व्यक्तित्व र नेतृत्व गर्ने कलाको विकास गराउनमा महत्वपूर्ण सहयोग पुग्ने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए ।

म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा भएको रजतजयन्तीको अवसर पारेर सम्मेलन आयोजना गरिएको जनाइएको छ । सम्मेलनमा क्षेत्र (ख) अन्तर्गतका ४१ शाखासहित देशभरका १ सय ७८ वटा जेसीजका प्रतिनिधि र पर्यवेक्षकहरुले सहभागिता जनाएका छन् । सम्मेलन परिसर बेनीको खुलामञ्चमा म्याग्दीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको तस्विरहरु राखिएको छ । यसैगरी खुलामञ्चमा म्याग्दीमा उत्पादित अर्गानिक उत्पादन र ढाका कपडाको उत्पादनको स्टल समेत राखिएको छ ।

बेनीबजारमा तुल, व्यानर र तोरण टाँगेर बजार क्षेत्रलाई नवदुलही जस्तै गरी सिँगारिएको छ भने चोक चोकमा स्वागतद्वार तथा गेट निर्माण गरी पाहुनाको स्वागत गरिएको छ । सम्मेलनको उद्घाटनपूर्व सदरमुकाम बेनीको विभिन्न चोकचोकमा जिल्लास्थित जातजातिहरुले आ–आफ्नो भेषभूषा र जातिय पहिचानमा सजिएर पाहुनाको स्वागत, सत्कार गर्नुका साथै लोपोन्मुख कला, संस्कृति देखाएका थिए ।

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेसीज एउटा प्रजातान्त्रिक संस्था भएको बताए । उनले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत मुलुक अगाडि बढिरहेको बताउँदै प्राप्त संविधान र उपलब्धिलाई पनि प्रहार गर्ने प्रयत्न भइरहेको बताए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘प्राप्त संविधानमाथि प्रहार गर्ने । सङ्घीयतामाथि प्रहार गर्ने । लोकतन्त्रमाथि प्रहार गर्ने । गणतन्त्रमाथि प्रहार गरेर पुरानै केन्द्रीकृत मानसिकताबाट एकतात्मक सत्तामा फर्काउने प्रयन्त पनि भइरहेको छ । कतिपय युवाहरुको म सामाजिक सञ्जालमा हेर्छु । जानेर वा नजानेर, बुझेर वा नबुझेर त्यसलाई प्रोत्साहित गरिरहेको हामी पाउँछौँ । म युवा साथीहरूलाई अनुरोध गर्न चाहन्छु । कि प्रजातन्त्रमा, लोकतन्त्रमा मात्रै कुनै पनि मुलुकको भविष्य हुन्छ ।’

म्याग्दी जिल्लाको लाइफलाइन मानिएको प्रदेश सरकारको योजनाअन्तर्गत रहेको बेनी–दरबाङ सडकखण्डमा फापरखेतको पहिरो व्यवस्थापन गरिने मुख्यमन्त्री पाण्डेले बताए । ‘चालु वर्षभित्रै फापरखेतमा पक्की बेलिब्रिज बनाएर बाह्रै महिना चल्ने बनाउँछु । यो मेरो तपाइँहरुसामु कमिटमेन्ट भयो । म फेरि मुक्तिनाथ जान यही बाटो आउनुपर्छ । अर्को कार्यक्रममा पनि यही बाटो आउनुपर्छ । एकचोटी भनेर भाग्ने सुख पनि पाउने होइन । तपाईँहरुलाई गरेको कमिटमेन्ट मैले पूरा गर्नैपर्छ । यहाँ जेसीजका साथीहरु बाहिरबाट आउनुभएको होला । स्थानीय पनि त यहाँ धेरै हुनुहुन्छ नि’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार अहिले प्रदेशभर अधुरा र अपूर्ण योजनाहरुको वास्तविक पहिचान गरी पूर्णता दिने काममा लागेको बताए। उनले निर्माण व्यवसायीको ढिलासुस्ती र बजेटको अभावले अलपत्र अवस्थामा रहेका विकास निर्माणका योजनाहरुको पहिचान गरी पूर्णता दिइने बताए । संघ सरकारमार्फत सञ्चालित योजना र बजेट प्रदेशमा हस्तान्तरण हुन नसक्दा सडक, पूर्वाधार र अस्पतालका भवनहरु अलपत्र परिरहेको उनको भनाइ छ ।

म्याग्दीका चारजना युवालाई जेसीजको सम्मान

यसैबीच नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको अवसरमा म्याग्दीको विभिन्न क्षेत्रमा क्रियाशील चारजना युवाहरु सम्मानित भएका छन् । युवाहरुले गरेको सामाजिक कामलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल जेसीजले सम्मेलनको अवसर पारी ती युवालाई सम्मान गरेको जनाएको छ । सम्मानित हुने युवाहरुमा भेडापालक किसान देवान छन्त्याल, अल्लो व्यवसायी किरण थापा, चर्चित गायक प्रकाश दूतराज र स्वयंसेवक तथा पर्यटन व्यवसायी ईन्द्रसिङ शेरचन रहेका छन्  ।

उहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्यद्वय हरि भण्डारी, बिमला गौचन, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर र सम्मेलन सभापति रजनी थापाले नगदसहित अबिर, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्