कास्कीमा आपराधिक घट्ना बढे ! तीजको दिन दिउँसै खुकुरी प्रहार



विजय नेपाली 

कास्की जिल्लामा केही समय यता आपराधिक घटनाहरु बढ्न थालेका छन् । प्रदेशको राजधानी पोखरामै चाडपर्व सुरु हुन लागेलगत्तै आपराधिक क्रियाकलाप बढ्न थालेका हुन् । पोखरामा तीज अघि चोरीका घटनाहरु हुन थालेका थिए भने तीजका दिन तीन ठुला झडप भए । ती झडपमा संलग्न चार जना भने फरार रहेका छन् । कास्कीको सुरक्षालाई नै चुनौती दिँदै घटनाहरु घटी रहेका छन् ।

घटना नं. १

भदौ ३१ गते राती करिब १० बजेर ४५ मिनेटको समयमा पोखरा ६ शान्तिपाटनमा दुई समुहबीच झडप भयो । वडा प्रहरी कार्यालय वैदाम नजिकै दुई समुहबीच झडप भयो । सिसाको बोतल प्रहारबाट दुई जना घाइते भए । तनहुँ घरभई कास्की पोखरा ६ बस्ने सागर थापा र पाल्पा घर भई सोही स्थानमा बस्दै आएका लोकेन्द्र पाँडे मगर र पाल्पा घर भई सोही स्थानमा बस्दै आएका २० वर्षीय विनोद भनिने धनबहादुर मगर र सन्दीप मगरबीचमा झडप भयो । धनबहादुर र सन्दिपले लोकेन्द्र र सागरलाई बोतल प्रहार गरेका हुन् ।

घटना नं. २

असोज १ सहिदचोकमा दिउँसै खुकुरी प्रहार भयो । दुई पक्षको विवादको विषयमा जाहेरी दिनका लागि आएका थिए । विवादमा एक पक्षले मुद्दा हाल्ने तरखर गरिरहेको थियो भने अर्को पक्षले सहमति गर्ने भनिरहेको थियो । जाहेरी दिने र मिल्ने भन्ने पक्षबीच कुरा नमिलेपछि मिल्ने भन्ने पक्षले खुकुरी प्रहार गरेको हो । उक्त घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने एक जना फरार छ ।

‘एक पक्ष जाहेरी दिन आएका थिए । अर्को पक्षले मिल्ने मनसाय राखिरहेका थिए । हामीले यस्तो घटनामा मिलापत्र हुँदैन कारबाही हुनपर्छ जाहेरी हाल्नुस् भनेका थियौँ । जाहेरी दिने पक्ष र मिल्नुपर्छ भन्ने पक्षको समर्र्थनमा आउनेहरु बीच समस्या भएको हो । त्यही क्रममा खुकुरी प्रहार भएको हो । हान्ने मध्येको एकजना पक्राउ परेको छ ।

घटना ३ 

असोज १ गते नै राती साढे ८ बजेको समयमा पोखरा महानगरपालिका ११ स्वास्थ्य तालिम केन्द्र अघि सुशील भुजेल, रवि भुजेल र भूपेन्द्र खत्रीलाई केही युवाहरुले कुटपिट गरे । तीन जनालाई उनीहरुले फलामको पाइप, सिसाको बोतललगायतले प्रहार गरेका हुन् । प्रहारबाट तीनै जना घाइते भए जसमध्ये सुशील भुजेल गम्भीर घाइते भए । उनको कन्चट र घाटीमा चोट लागेको छ । अन्य दुई जना भने उपचार पश्चात् डिस्चार्ज भईसके । घाइतेहरुले ७ जनाविरुद्ध उजुरी दिएका छन् । प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ भने अन्य फरार छन् ।

यी घटना प्रतिनिधि मूलक घटनामात्रै हुन् । घटना नं. १ र २ बैदाम प्रहरीको इलाकामा पर्छ । घटना नं. दुई प्रहरी कार्यालय देखी करिब ५० मिटरकै दुरी रहेको सहिद चोकमा भएको हो भने घटना १ पनि प्रहरी चौकीकै आसपासमा भएको छ । घटना २ ले प्रहरीलाई नै चुनौती दिँदै खुलेआम खुकुरी प्रहार गर्दा समेत प्रहरीले संलग्नहरु सबैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीकै नजिक मध्य दिनमै घटना हुँदा समेत प्रहरीले खुकुरी प्रहार गर्नेलाई पक्राउ नगर्दा पोखरा यतिबेला त्रासमय बनिरहेको छ । त्यो घटनामा मात्रै होइन घटना नं. ३ मा संलग्न मध्ये पनि तीन जना फरार छन् । यी बाहेक पोखरा ११ र, पोखरा २०, पोखरा पोखरा २५ लगायतका वडाका विभिन्न स्थानमा चोरीका घटनाहरु भएका थिए ।

घटना १ र २ को बारेमा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद जोशीले दुई घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको र एक जना फरार रहेको बताए । उनले  घटना १ मा संलग्न पाल्पा घर भई पोखरा ६ बस्दै आएका २० वर्षीय विनोद भनिने धनबहादुर मगर र सन्दीप मगरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । यस्तै घटना २ मा दुई पक्षबीच उजुरी दिन आउने क्रममा खुकुरी प्रहार भएको सुनाए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  श्रवण विकले घटना नं.३ मा ७ जना विरुद्ध जाहेरी परेको जानकारी दिए । उनले उक्त घटनामा संलग्न चार जनालाई पक्राउ गरेको सुनाए । सरोज परियार, सन्दीप राई, प्रवीण विक, सतिव साई र सौगात परियारलाई पक्राउ गरेको हो । घटनामा जिआई पाईप, बोतल लगायतको प्रयोग भएको हो । विकका अनुसार सुशीलको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चाडपर्व नजिकिँदै गर्दा आपराधिक गतिविधि बढ्ने गरेको उनको भनाई छ । ‘हामीले चाडवाड केन्द्रीय सुरक्षा योजना बनाइरहेका छौँ । चाडवाड नजिकिँदै गर्दा घटनाहरु बढ्न सक्छन् । त्यसले गर्दा हामीले प्रहरी परिचालन कसरी गर्ने भन्ने बारेमा योजना बनाइरहेका छौँ’ उनले भने  ।

प्रतिक्रिया दिनुहोस्