पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा १९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान



बुटवल। 

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । समितिका बुटवलका पूर्व अध्यक्ष अर्जुन रानाभाट कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष गणेश पन्थले आफूले पाउने पारिश्रमीकलाई सामाजिक काममा लगाउने गरी  स्थापना गरेको कल्याणकारी कोषवाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विभिन्न सामुदायिक विद्यालयका १९ जना जेहेन्दार विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताए ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखांची, नवलपुर र स्याङ्जा केही सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । समितिले स्थापना गरेको अक्ष्यकोषको व्याजबाट सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

सोही कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नका लागि हौसला बढ्ने हुंदा आफूले पाउने पारिश्रमीकलाई अक्षयकोष बनाईदिएको र यसलाई बढाउर्दै निरन्तरता दिनुपर्ने बताए । यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउँदै राज्यले यातायात व्यवसायीका समस्यामा गम्भिर हुन नसकेको गुनासो गरे ।

 समितिका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले रक्तदान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै छात्रवृत्तिको रकम शिक्षामा नै प्रयोग गर्न आग्रह गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेले छात्रवृत्ति र रक्तदान कार्यक्रमलाई थप व्यवस्थित गरी निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन नगर्दा व्यवसायी समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, पूर्व महासचिव तथा ढुवानी व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, समितिका उपाध्यक्ष गणेश घिमिरे, दुर्वादत्त माध्यमिक विद्यालय शंकरनगरका प्रअ चण्डीप्रसाद पाण्डे लगायतले समितिले  शैक्षिक क्षेत्रमा टेवापुराउने गरी अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा सराहना व्यक्त गरे ।

 समितिका अध्यक्ष यमप्रसाद पाण्डेयको अध्यक्षता र महासचिव हरिप्रसाद कँडेलको सञ्चालन तथा  समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो । त्यस्तै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको महासचिव हरि प्रसाद कँडेलले बताए ।

सोही समारोहमा  लु २ ख ११९६ का चालकको दुर्घटनामा परी मृत्यु भएकोमा उहाँको परिवारलाई समितिले गरिदिएको बिमाबाट ३ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्