बुटवल।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि राजनीतिक दलका तर्फबाट धारणा राख्दै ती दलका नेताहरूले आचार्यलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेको एमालेका तर्फबाट मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने बताउनुभयो । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाका तारा थापाले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्ने जानकारी गराउनुभयो ।
सरकारलाई समर्थन गर्ने दलका सांसदहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने स्पष्ट धारणा राखेसँगै सरकारको पक्षमा बहुमत जुटेको छ । विश्वासको मत लिनुअघि सरकारको पक्षमा रहेका दलहरूका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएका थिए । त्यसपछि उनीहरू सामूहिक रूपमा प्रदेश सभा बैठकमा सहभागी भएका हुन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने भएको छ । प्रदेश सभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने जानकारी गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने भएको छ । राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनको प्रक्रियामा पार्टी तटस्थ बस्ने जानकारी बैठकमा गराउनुभयो ।
त्यस्तै जनमत पार्टीले मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । जनमत पार्टीका दल नेता चन्द्रकेश गुप्ताले विश्वासको मतको विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन थाल्नुभएको हो । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेश सभामा दलका नेताहरूले धारणा राखेपछि मत विभाजनमार्फत निर्णय हुने प्रक्रिया अघि बढेको छ ।











प्रतिक्रिया