भोटेकोशी बाढीपीडितका लागि यातायात व्यवसायी समितिद्वारा ५ लाख सहयोग,समितिका ११ ट्रक, चालक, परिचालक अझै बेपत्ता 

0
Shares

बुटवल। 

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले ५ लाख १ हजार ४ सय ५९ रुपैयाँ सहयोग गरेको छ । समितिका पदाधिकारी, सदस्य तथा व्यवसायी र समितिमा गठित स्वतन्त्र कर्मचारी युनियनबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।  

समितिका पदाधिकारी, सदस्य तथा व्यवसायीबाट ४ लाख ४ सय ५९ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख प्रकाश गेरैले बताउनुभयो । समितिमा गठित स्वतन्त्र कर्मचारी युनियनबाट १ लाख १ हजार रुपैयाँ संकलन भएको अध्यक्ष  हिम्मत आचार्यले बताउनु भयोे । संकलित रकममध्ये ३ लाख ५० हजार ४ सय ५९ रुपैयाँ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत र १ लाख ५० हजार रुपैयाँ नेपाल ट्रक यातायात व्यवसायी महासंघमार्फत उद्धार कोषमा पठाइएको समितिका अध्यक्ष यामबहादुर जिसीले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पश्चिमाञ्चल यातायात व्यवसायी समितिले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।आफ्नै व्यवसायी तथा समुदायका सदस्यसमेत विपद्बाट प्रभावित भएको अवस्थामा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नु उदाहरणीय भएको उहाँले बताउनुभयो ।

विपद्को समयमा सरकारी प्रयाससँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार र राहतमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला यातायात व्यवसायी समितिको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप बलियो बनाएको छ । समितिमा आवद्ध ११ वटा ट्रक  चालक परिचालक समेत सो बाढीमा परी  बेपत्ता भएको अध्यक्ष जीसीले बताउनुभयो । यस्तो विष परिस्थितीमा पनि समितिले यस क्षेत्रमा संकलित राहत सामाग्री ओसार पसारका लागि दैनिक ३ वटा ट्रक  निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

कल्पना सप्लायर्सद्धारा १ लाख ५१ हजार रुपैयाँ सहयोग

त्यस्तै कल्पना सप्लायर्सका प्रोपराइटर तथा यातायात व्यवसायी टीकाराम गौतमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गौतमले उक्त रकम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

 भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकको उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको प्रोपराइटर गौतमले बताउनुभएको छ ।सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विपद्को समयमा पीडित नागरिकका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण उदाहरण भएको बताउनुभयो । उहाँले विपद्का बेला व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले प्रभावित नागरिकको राहत र पुनः स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै कल्पना सप्लायर्सका प्रोपराइटर टीकाराम गौतमप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभयो ।