वझा परिवारद्धारा १४ कठ्ठा जग्गा दान, तिलोत्तमाको आनन्दवन हेल्थपोष्ट नगर अस्पताल बन्ने बाटो खुल्यो

0
Shares

बुटवल।

१५ बेडको नगर अस्पताल सञ्चालनका लागि आवश्यक न्यूनतम जग्गा पूरा गर्न तिलोत्तमामा एक परिवारले १४ कठ्ठा जग्गा नेपाल सरकारको नाममा दिने भएको छ। तिलोत्तमा नगरपालिका–६ र बुटवल उपमहानगर ४ निवासी जीवन वझा, राजेन्द्र वझा र नारायण वझाले आफ्ना स्वर्गीय बुवाहरू गोपाल, अमृत र शम्भुको स्मृतिमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गर्नु भएको हो।

गरिब, दुःखी, महिला, बालबालिका तथा असहाय नागरिकलाई घरदैलोमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने बुवाहरूको चाहना रहेकाले अस्पताल निर्माणका लागि जग्गा प्रदान गरिएको जीवन वझाले बताउनुभयो।

वझा परिवारले यसअघि नै वि.सं. २०४३ सालमा आनन्दवन हेल्थपोष्ट निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो। अहिले सोही आनन्दवन हेल्थपोष्टलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गर्ने गरी भवन निर्माण भइरहेको छ।

१५ बेडको नगर अस्पताल सञ्चालनका लागि न्यूनतम १४ कठ्ठा जग्गा आवश्यक पर्ने मापदण्डअनुसार थप ४ कठ्ठा जग्गा उपलब्ध गराउने विषयमा वझा परिवार र तिलोत्तमा नगरपालिकाबीच बिहीबार सम्झौता भएको हो।

सम्झौताका क्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरीदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकसहित मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वझा परिवारले जग्गा नेपाल सरकारको नाममा हस्तान्तरण गर्ने सहमति गरेको छ। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै जग्गा नामसारी गर्ने सहमति समेत भएको नगरपालिकाले जनाएको छ।

जग्गा उपलब्ध भएसँगै आनन्दवन हेल्थपोष्टलाई १५ बेडको नगर अस्पतालका रूपमा सञ्चालन गर्ने बाटो सहज भएको छ।
यस अवसरमा तिलोत्तमा नगरपालिकाले अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने वझा परिवारलाई सम्मानसमेत गरेको थियो।