बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने तथा नगरका जनप्रतिनिधि र कर्मचारीको तीन दिनको सुविधा तथा पारिश्रमिक बराबरको करिब १५ लाख गरी कूल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिको वैठकपछि तिलोत्तमा नगरपालिकाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र सुरक्षित पुनर्मिलनका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।
नगर प्रमुख रामकृष्ण खाणले विपद्मा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु आवश्यक रहेकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गरिएको बताए ।
उपप्रमुख जगेश्वरदेवी चौधरीले विपद्का बेला राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताइन् ।
भविष्यमा यस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ । त्यसका लागि पूर्वसूचना प्रणाली, प्रविधिको प्रयोग, जोखिमयुक्त क्षेत्रको पहिचान तथा समुदायस्तरमा विपद् सचेतना अभिवृद्धिमा जोड दिने विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणमा सबै पक्षको ध्यानाकर्षण गराएको छ । साथै शोकलाई शक्तिमा, पीडालाई सहकार्यमा र विपद्लाई सुरक्षित भविष्य निर्माणको अवसरमा रूपान्तरण गर्न नेपालीबीच एकता, सहयोग र सहकार्यको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।
भदौ १० गते बुधबार बिहान करिब ९ः१५ बजे रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।
नगरपालिकाले विपद्को पीडा प्रभावित परिवारको मात्र नभई सम्पूर्ण राष्ट्र र नेपाली समाजकै साझा पीडा भएको भन्दै स्थानीय सरकारका रूपमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ ।















प्रतिक्रिया