पूर्व नगरप्रमुख सिंह तीन दिनपछि जंगलमा मृत भेटिएको घटना रहस्यमय, हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग

1.69k
Shares

बुटवल। 

तीन देखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको मृत अवस्थामा आइतबार शव भेटिएका छ  । तीन दिनअघि मोटरसाइकल भेटिएको स्थानभन्दा करिब ७ सय मिटरको दुरीमा शव फेला परेको हो ।

तौलिहवादेखि गोरुसिंगे सडकखण्ड क्षेत्रमा पर्ने तिलौराकोट सामुदायिक जंगलमा शुक्रबारदेखि हराउनु भएका सिंहको शव फेला परेता पनि मृत्यु  रहस्यमय बनेको छ । प्रहरीले मृत्युको कुनै ठोस कारण अहिलेसम्म भेटाएको छैन । घटनास्थल पुग्नु भएका  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार साउन २२ गते साँझ ६ बजेसम्म सिंहले आफन्त र प्रहरीलाई समेत आफू जंगलको बीचमा हराएर अलपत्र परेको बताउनु भएको थियो ।

सिंह चढेर गएको मोटरसाइकल भने सोही राती नै जंगलको बिचमा भेटिएको थियो । सम्पर्क बिहीनदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी तथा स्थानीयसमेतले खोजबिन गरिरहेका थिए । शनिबारदेखि कुकुर मगाएरसमेत खोजबिन गरिएको थियो ।

घटनास्थलमा शव उत्तानो फर्किएको अवस्थामा भेटिएको हो । बाहिर देखिने ठूलो घाउचोट केही छैन । शवबाट तीव्र गन्ध आइरहेको थियो प्रहरीको भनाई छ । पोष्टमार्टम नगरी अन्य कारणबारे खुल्न नसक्ने उहाँको भनाइ छ । कुँवरका अनुसार २२ गते ६ बजेसम्म उनले केही साथीहरु, वडाध्यक्ष र प्रहरीलाई समेत आफू जंगलमा हराएको भनेर पटक–पटक फोन गरेर गुहार माग्नु भएको थियो ।

प्रहरीले अहिले पनि गहन अनुसन्धान गरिरहेको जनाएको छ । सिंह शुक्रबार ३ बजेपछि तौलिहवा–गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएको आफैँले मोबाइलबाट फोन गरेर सबैलाई जानकारी दिएका थिए ।

आइतबार प्रहरीले उहाँको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएको  छ । सिंहका निकटस्थहरु र स्थानीयले उनको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा विजयी भएका उनी ०७९ सालको निर्वाचनमा भने पराजित बनेका थिए । हाल उनी कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

पूर्वनगरप्रमुख सिंह घटनास्थलको नजिक पर्ने ढकेरीमा व्यावसायिक कृषि फर्म खोल्ने तयारी गर्दै थिए । त्यही क्रममा यो जंगलमा धेरै आउजाउ गरिरहन्थे । आफू हिँडिरहने जंगलमा नै उनी अलपत्र कसरी परे भनेर पनि स्थानीयले आश्चर्य मानेका छन् ।  यसैबीच कांग्रेस कपिलवस्तु जिल्ला अध्यक्ष अब्दुल कलामले सिंहको मृत्युको कारण अनुसन्धान गरी घटनाको वास्तविक सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउन माग गदै विज्ञप्ति जारी गर्नु भएको छ ।