सुलभ फार्मेसीबारे भ्रमपूर्ण प्रचारप्रति तिलोत्तमा नगरपालिकाको कडा आपत्ति, नागरिकको स्वास्थ्य अधिकारसँग सम्झौता हुँदैन

1.88k
Shares

बुटवल  

तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित सुलभ फार्मेसीका विषयमा फैलाइएको भ्रमपूर्ण तथा तथ्यहीन प्रचारप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनको उद्देश्य नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय र पारदर्शी रूपमा उपलब्ध गराउनु रहेको स्पष्ट गर्दै फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको हो।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्वास्थ्यसम्बन्धी जिम्मेवारी स्थानीय तहलाई प्रदान गरेको उल्लेख गर्दै सर्वसाधारणको पहुँचमा औषधि पु¥याउने सामाजिक दायित्वअन्तर्गत सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको जनाएको छ।

नगरपालिकाका अनुसार सुलभ फार्मेसी सञ्चालनको विषयमा केही औषधि व्यवसायी तथा व्यवसायीसम्बद्ध संघसंस्थाबाट असहमति प्रकट हुनुका साथै फार्मेसीका लागि आवश्यक औषधिको आपूर्ति अवरुद्ध गरी सेवा प्रवाह प्रभावित पार्ने प्रयास भएको विषयमा समेत ध्यानाकर्षण भएको छ।

विशेषगरी नेपाल औषधि व्यवसायी संघ रूपन्देही शाखाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नगर प्रमुखलाई जोडेर व्यक्त गरिएको गैरजिम्मेवार, भ्रामक तथा तथ्यहीन अभिव्यक्तिप्रति नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले सार्वजनिक कार्यक्रम वा संस्थागत निर्णयप्रति प्रश्न उठाउने, आलोचना गर्ने वा सुझाव दिने अधिकार सबैलाई भए पनि त्यस्ता अभिव्यक्ति तथ्य, प्रमाण र कानुनी व्यवस्थामा आधारित हुनुपर्ने स्पष्ट गरेको छ। नगरपालिकाले जिम्मेवार व्यक्तिबाट अपुष्ट सूचना, अतिरिक्त दाबी वा भ्रम सिर्जना गर्ने किसिमका अभिव्यक्ति आउनु आफैंमा लज्जाको विषय भएको भन्दै त्यस्ता गलत तथा भ्रामक प्रचारप्रति आफ्नो गम्भीर असहमति जनाएको छ। प्रेस विज्ञप्तिमा औषधि व्यवस्था विभागसँग सम्बन्धित पत्राचार तथा नियमित औषधि आपूर्तिका विषयमा भएका पत्राचारलाई समेत बेवास्ता गरी विभिन्न कानुनी तथा संवैधानिक व्यवस्थाको विपरीत कार्य भएकोजस्तो गरी प्रचार गर्नु गैरजिम्मेवारपूर्ण भएको नगरपालिकाको ठहर छ। नगरपालिकाले नागरिकको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको औषधिको नियमित आपूर्ति अवरुद्ध गर्ने, सार्वजनिक स्वास्थ्य सेवामा बाधा पु¥याउने वा भ्रमपूर्ण सूचना फैलाउने कार्यलाई स्वीकार गर्न नसकिने जनाएको छ।

तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसीलाई अझ व्यवस्थित, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता दोहो¥याएको छ। साथै, सुलभ फार्मेसीसँग सम्बन्धित विषयमा फैलाइएका भ्रम र अन्योल चिर्न नगरपालिकाका आधिकारिक सूचना तथा तथ्यमा आधारित जानकारीलाई आधार बनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ।

नगर प्रमुख रामकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले सुलभ फार्मेसीलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने स्पष्ट सङ्केत दिएको छ।

यससँगै तिलोत्तमा नगरपालिकाले औषधि सहज र सुलभ रूपमा पाउने नागरिकको अधिकार सुनिश्चित गर्ने अभियानमा कुनै पनि दबाब, अवरोध वा भ्रमपूर्ण प्रचारबाट पछि नहट्ने सन्देश दिएको छ।