संस्कृतिको संरक्षण गर्न भिरकोटमा मौलिक तीजगीत  



स्याङ्जा ।

परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीजगित प्रतियोगिताहरु गरिएको छ । ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिताहरु सम्पन्न भएका छन् ।  नगरपालिकाले तिज गीतको मौलिकता संरक्षण गर्न वडा तहदेखि नगरस्तरीय सम्मको तीज गित प्रतियोगिताको आयोजना गरेको हो । वडागत रुपमा सुरु भएको तीजगीत  प्रतियोगिता ९ वटै वडामा सम्पन्न भैसकेको छ ।

वडास्तरीय प्रतियोगिता अन्तर्गगत वडा नं. १ मा दुर्गादेवी आमासमूह दार्सिङ, वडा नं. २ मा सृजनशील आमासमूह ठाडोलाइन, वडा नं. ३ मा बजादी आमा समूह  बजादी, वडा नं. ४ मा सहनशील आमा समूह झारुङखोला, वडा नं. ५ मा समाजसुधार आमासमूह तिलहार नेटा, वडा नं. ६ मा जनजागरण आमा समूह सिमलचौर, वडा नं. ७ मा सृजनशील आमासमूह तिलहार, वडा नं. ८ मा लगनशील आमासमूह जामुनेडाँडा तथा वडा नं. ९ मा देवीस्थान आमासमूह ठुलीभञ्याङ प्रथम भएका छन् । वडाबाट छनौट भएका समूहहरुबीच  असोज १ बयरघारी बजारको तमु समाज भवनमा नगरस्तरीय तीज गीत प्रतियोगिता हुने पालिकाले जनाएको छ ।

आमा समूहहरुले पालिकाको विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा भएको प्रगति, समस्या  र देशको समसामयिक परिस्थितिलाई मौलिक लयमा प्रस्तुत गरेका थिए । नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जनताले गीत मार्फत व्यक्त गरेका खुसी र दुःखलाई  सम्बोधन गर्दै जनचाहना अनुसार नै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत भीरकोटले हरेक टोलका महिला सहभागी हुन पाउने गरी  यो कार्यक्रम आयोजना गरेको हो । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले तीज गीतको मौलिकता संरक्षण तथा संर्वद्धन गरी महिलाहरुमा एकता कायम राख्न प्रतियोगिताको आयोजना गरिएको बताइन्  । मौलिक संस्कृतिको संरक्षण सँगसँगै  महिला सशक्तिकरण गर्ने उद्देश्यले वडातहदेखि तीज गीत प्रतियोगिताको आयोजना गरिएको वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीले बताए ।

वडास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरस्तरीय प्रतियोगितामा भने प्रथमले २५ हजार, द्वितीयले  १५ हजार, तृतियले १० हजार र सान्त्वनाले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै नगरस्तरीय प्रतियोगितामा सहभागी हुने हरेक समूहलाई यातायात खर्चबापत २ हजार समेत प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्