करोना पीडितको रकम सहकारी संस्थामा



रौतहट । 

कोरोना पीडितलाई वितरण गर्नु पर्ने रकम यहाँको एक पालिकाले सहकारी संस्थामा बचत गरेको खुलेको छ । ०७९ असार महिनामानै कोरोना पीडितलाई वितरण गर्नु पर्ने ९० लाख रुपैयाँ परोहा नगरपालिकाले स्थानीय पूजनीय बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको खुलेको छ ।

लक्षित वर्गमा वितरण नभएको आलोचना भएपछि परोहा नगरपालिका ६ वटा वडाका कोरोना पीडितलाई वितरण गरेको जनाएको छ । राज्यको रकम लामो समयदेखि  सहकारी संस्थाको खातामा बचत गर्दा आउने ब्याज रकम समेत अपचलन हुने आरोप स्थानीयको रहेको छ ।

नेपाल सरकारले सशर्त अनुदानको बजेट अन्तर्गत कोरोना पीडित लाई राहत दिने हेतुले परोहा नगरपालिकामा ९० लाख रुपैयाँ  निकासा गरेको थियो । लामो समयदेखि कोरोना पीडितलाई राहत रकम वितरण नगरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्  । परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज आलमले सहकारी संस्थाका म्यानेजर बिरामी भएका कारण कोरोना पीडितलाई राहत वितरणमा ढिलाइ भएको बताए।

उक्त पालिकामा प्रभु बैक हुँदाहुँदै  नगरपालिकाले सहकारी संस्थाको खातामा बचत गर्नुले शंका उब्जाएको स्थानीयको आरोप रहेको छ । नगरप्रमुख शेख वकिलले रकम फ्रिज हुन नदिन सहकारी संस्थामा रकम जम्मा गरिएको बताए । उनले  अब वितरण प्रक्रियामा नगरपालिका रहेको बताए । नौ वटा वडा रहेको सो नगरपालिकाले कोरोना पीडितको लगत सङ्कलन गरे पनि वितरणमा ढिलाइ गर्नुले आर्थिक अनियमितता गर्न खोजेको आरोप स्थानीय सतेन्द्र प्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्