आयोजक वडा २३ को विजयी सुुरुआत



काठमाडौँ  । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मङ्गलबार आयोजक वडा नं २३ ले विजयी सुरुआत गरेको छ ।
काठमाडौँ महानगरपालिकाका वडाहरुबीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको उद्घघाटन खेलमा वडा नं २३ ले काठमाडौँ महानगरपालिकालाई ५–३ गोलअन्तरले पराजित ग¥यो । विशाल श्रेष्ठको ह्याट्रिकको सहयोगमा वडा २३ को जित सम्भव भएको थियो । विजयी टिमका लागि सिरिस महर्जन र सुमिन मानन्धरले पनि गोल गरेका थिए । काठमाडौँ महानगरपालिकाका विनय शाक्य र गौरवले गोल फर्काएका थिए ।

पहिलो दिन भएको अन्य खेलमा वडा नं १४ ले वडा नं ३० लाई ३–१ र वडा नं २२ ले वडा नं १६ लाई ३–० ले हराए । वडा नं २२ का लागि सुशील खड्गीले ह्याट्रिक गरेका थिए । पहिलो दिन विजयी तीनै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् । बुधबार वडा नं ५ ले वडा २६, वडा २८ ले वडा २४, वडा २१ ले वडा १३ र वडा १२ ले वडा १८ सँग खेल्नेछन् ।

यसअघि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घघाटन गरेका थिए । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहेको छ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्