नाला क्षेत्रमा कोल्ड स्टोर बनाउँछौ : नगर प्रमुख शाक्य

पुन्यमती नारी चेतना सीपमूलक सहकारीको २१ औं सभा



काभ्रे। 

काभ्रेको बनेपास्थित साबिक टुकुचा गाविसलाई कार्य क्षेत्र बनाएर स्थापना भएको पुन्यमती नारी चेतना सिपमूलक सहकारी संस्था लिमिटेडको २१ औं बर्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा उपप्रमुख विमला सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै नगर प्रमुख शाक्यले बनेपाको वडा नम्बर १ देखि ४ सम्मका सबै वडाहरु कृषि र पशुपालनका लागि उपयुक्त भएकाले कृषि तथा पशुपालनबाट उत्पादित सामाग्रीहरुको उचित मूल्य तथा बजारीकरणको सहजताका लागि नगरपालिकाले कोल्ड स्टोर स्थापना गर्न लागेको बताए । ‘नाला क्षेत्रका चारवटै वडाका कृषकहरुलाई लाभ दिन सक्ने गरी कोल्ड स्टोर निर्माणको तयारीमा छौँ’–नगर प्रमुख शाक्यले भने–‘कोल्ड स्टोरमा दूध, मासु, फलफूल, तरकारी लगायतका सामाग्रीहरुको भण्डारण गर्न सकिनेछ ।’

 उपप्रमुख विमला सापकोटाले नगरपालिकाले हरेक क्षेत्रका महिलाहरु आत्मनिर्भर बन्न सक्ने गरी सीपमूलक तालिम तथा तालिम प्राप्त व्यक्ति र समुहलाई समन्वय र सहजिकरण गरी विभिन्न प्रविधिहरु उपलब्ध गराउँदै आएको बताइन् । ‘हरेक व्यक्ति आफै आत्मनिर्भर बन्न सक्यो भने उसले महसुस गर्ने खुसीको सीमा नै रहँदैन’–उपप्रमुख सापकोटाले भनिन–‘पशुपालनमा लम्पीस्किनबाट भएको क्षतिबाट कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउने गरी नगरपालिकाले माउ पुशलाई प्रति पशु १० हजार दिने निर्णय गर्दै विमा अनिवार्य र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।’

अध्यक्ष मञ्जु आचार्य घिमिरेले सहकारीले संस्थामा आवद्ध शेयर सदस्यहरुका लागि स्थानीय आवश्यकता अनुसारका सीपमूलक तालिमका साथै आयआर्जन हुने खालका कार्यक्रम गरिरहेको बताइन् । अध्यक्ष घिमिरेले सुत्केरी राहत, मृतक राहत, वाख्रा साटासाट कार्यक्रम तथा बाख्राको बीमा कार्यक्रम, आर्गानिक खेती तालिम, सदस्य विमा ऋण कार्यक्रम, ब्युटी पार्लर, सिलाई बुनाई, झोला बनाउने, साबुन बनाउने लगायतका आवश्यक तालिमहरु लिएर सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियान निरन्तर गरिएको बताइन् ।

 कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष कमल घिमिरे, वडा नम्बर ४ का अध्यक्ष श्याम श्रेष्ठ, संस्थाकी उपाध्यक्ष बविता थापा, सचिव विमला श्रेष्ठ, कोषाध्यक्ष सावित्री घिमिरे, लेखा सुपरिवेक्षण समिति संयोजक अनु पाण्डे लगायतले सहकारीले गरेका महत्त्वपूर्ण गतिविधि र त्यसले समुदायलाई पारेको प्रभावका बारेमा धारणा राखेका थिए ।

 संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ३ लाख ९७ हजार शेयर पुँजी संकलन गरेको छ भने ६ करोड ६७ लाख ३८ हजार ८ सय १४ रुपैयाँ बचत गरेको छ । ७ करोड ८१ लाख ३६ हजार ऋण लगानी गरेको संस्थामा १ हजार २ सय ८५ शेयर सदस्य र २ स २३ बाल सदस्य रहेका छन् । सभामा विभिन्न विद्याका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्