कांग्रेस चितवनको सभापतिमा मिलनबाबु श्रेष्ठ चयन

0
Shares

चितवन ।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले चितवनमा जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

नवगठित जिल्ला कार्यसमितिको उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल ‘श्याम’ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा माधव अधिकारी, रेणु प्रधान, सञ्जय आचार्य, गोविन्दबहादुर गुरुङ, विष्णुभक्त न्यौपाने, भुपाल गुरुङ, राजीव चौधरी र लोकनाथ पौडेल चयन भएका छन्।
नयाँ कार्यसमिति गठनसँगै जिल्ला संगठनलाई थप व्यवस्थित, समावेशी र प्रतिनिधिमूलक बनाउने तयारीसमेत गरिएको छ। जिल्लाका विभिन्न भूगोल, क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै समितिलाई पूर्णता दिने जनाइएको छ।

केन्द्रीय महाधिवेशनअघि नै छुटेका क्षेत्र र भूगोलको प्रतिनिधित्व समेटेर जिल्ला कार्यसमितिलाई पूर्ण बनाइने बताइएको छ। यसबाट जिल्लाभरका नेता तथा कार्यकर्तालाई संगठनमा समेट्दै पार्टीको आन्तरिक एकता र सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीका क्रममा जिल्ला तहमा नेतृत्व चयन र संगठन विस्तारका गतिविधि अघि बढिरहेका छन्। चितवनमा नयाँ नेतृत्व चयन भएसँगै महाधिवेशन केन्द्रित गतिविधिले थप तीव्रता पाउने र पार्टी संगठनलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।