भगवती जात्रामा तानसेन जाने आउने पश्चिम नेपालको बसमा ५० प्रतिशत भाडा छुट



बुटवल  । 

पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भदौ २१ गते विकार दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा लिको बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटिने निर्णय गरेको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिबाट सञ्चालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा मात्र सो सुविधा प्राप्त हुने जनाइएको छ । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुवैतर्फबाट यात्रुहरूका लागि सो सुविधा प्राप्त हुने प्रालिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको थियो । सो युद्ध र विजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालद्वारा प्रकाशित सुचनाका अनुसार बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुविधा प्राप्त गर्न नसक्ने जानकारी गराउँदै प्रबन्धक भुसालले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्