झापामा शर्माले लिएको नागरिकता सङ्कास्पद् 



भद्रपुर। 

  झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ।

नागरिकतामा बाबुको नाम जगदीश शर्मा राखिएको छ । नागरिकता लिने प्रक्रियामा साबिक घेराबारी ५ हाल कचनकवल १ को वडा कार्यालयमा कुनै अभिलेख फेला परेको छैन । उनले लिएको नागरिकता  जिल्ला प्रशासनमा फेला परेको छ भने त्यसमा चाहिने कागजातहरु भने  नभेटिएको जिल्ला प्रशासनको नागरिकता फाँटले  जनाएको छ  ।

शर्माको  नागरिकता जारी भएको  बखतमा कचकवल १ देखिए पनि सो वडामा उनको कुनै प्रमाण फेला नपरेको वडा कार्यालयले जनाएको छ । उनको नागरिकतामा प्रशासकीय अधिकृत सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । वंशजका आधारमा शर्माले लिएको नागरिकता नम्बर ०४–१०–७१–००१११ उल्लेख छ । शर्माको नागरिकता सङ्कास्पद् नागरिकताको विषयमा जिल्ला प्रशासनमा जानकारी लिन जाँदा नागरिकताको विषयमा ०७८ भदौ  २५ गते जिल्ला प्रशासनमा उजुरी परेको फाँटका कर्मचारीले जानकारी दिए ।  निवेदन परिसकेपछि जिल्ला प्रशासनले शर्मालाई उपस्थित गराइ जानकारी लिँदा नागरिकता हरायो भन्ने जवाफ दिएपछि पुनः ०७८ असोज १० गते तत्कालीन प्रशासकीय अधिकृत मोहनलाल पनेरुले सहीगरी प्रतिलिपि नागरिकता प्राप्त गरेको देखिएको छ । सो नागरिकता प्रशासनको मुद्दा फाँटले खिचेर राखेको छ ।

त्यसैगरी शर्माका छोरी सालुले जन्मस्थान दमक १२ र हालको बसोबास पनि दमक  सोही वडा देखाएर जन्मका आधारमा ०६३  फागुन १८ मा नागरिकता लिएको इलाका प्रशासन कार्यालय दमकमा भेटिएको छ । टोली प्रमुख ज्ञानेन्द्रराज ओझाको नाम नागरिकतामा उल्लेख भएपनि ओझाको  सही र कार्यालयको छाप भने देखिँदैन । शालुको नागरिकता नम्बर ०४०३०४४/३४८ उल्लेख छ । उनको बाबुको नागरिकतामा रमेश शर्मा छ भने शालुुको नागरिकतामा कुमार नै  छैन ।

यता छोरा सौरभको जन्मस्थान कनकाई ८ र हालको बसोबास दमक ११ देखाएर ०७३ जेठ २५ मा इलाका प्रशासन कार्यालय दमकबाट नै वंशजका अधारमा नागरिकता जारी भएको देखिएको छ ।

नागरिकतामा उजुरी परेपछि शर्माले ०७९ चैत्र १ गतेसम्म तारिख धाएको र त्यसपछि उपस्थित नभएको मुद्दा फाँटका कर्मचारीले जानकारी दिए । केही दिन अघि जिल्ला प्रशासनको सम्पर्कमा आएका शर्मालाई प्रमाण पुग्ने कागजात नल्याएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने फाँटका कर्मचारीले भनेको जानकारीमा आएको छ  ।

शर्मा परिवारको नागरिकता सम्बन्धी कुनै कागजात फेला नपरेको कचनकवल १ का वडा अध्यक्ष महावीर लिम्बूले बताए । वडाबाट सिफारिस लगेको नगदी रसिद तिरेको कुनै पनि अभिलेख नदेखिएको उनको भनाइ छ ।

यता जिल्ला प्रशासनको नागरिकता प्रतिलिपि फाँटमा प्रतिलिपि लिएको देखिएको प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले बताए । प्रतिलिपि नागरिकता लिनलाई  सम्बन्धित वडाको सिफारिस नभए पनि नागरिकता जारी गर्ने अधिकृतले चिनजानका आधारमा दिनसक्ने उनले जनाए । प्रतिलिपि लिनका लागि त्यस्तो कुनै नियम नरहेको उनको भनाइ छ ।

उजुरी परेपछि प्रमाण जुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनको नागरिकताको विषयमा प्रमाण जुटिसकेपछि मात्र टुङ्गोमा पुगिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्