लमजुङ।
सम्भावित वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै लमजुङ हुँदै मनाङ जाने सवारीसाधनको रात्रिकालीन आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले कात्तिक १२ गतेदेखि १५ गतेसम्म राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन नगर्न निर्णय गरेको हो ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार बंगालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । वर्षाका कारण बाढीपहिरो लगायतका विपद् निम्तिन सक्ने जोखिम रहेकाले सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार उक्त अवधिमा लमजुङ हुँदै मनाङको सिमानासम्म जाने सवारीसाधन राति ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाइने छैनन् । निर्णयबाट सम्भावित विपद्का कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सूचना जारी गर्दै सवारी आवागमन सम्बन्धी निर्णय पालना गर्न तथा सम्भावित विपद्बाट सुरक्षित रहन आमनागरिकलाई अनुरोध गर्नुभएको छ।











प्रतिक्रिया