लमजुङ
छैटौँ भोटेवडार,तार्कुकोट मिनी म्याराथन दौड प्रतियोगितामा तनहुँका सनम गुरुङ प्रथम भएका छन् । ७ किलोमिटर दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै सनमले उपाधि जितेका हुन् ।
प्रतियोगितामा खोटाङका धिरन राई ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएका छन् भने ओखलढुंगाका पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै, गोरखाका सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने धावकले क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी सबैभन्दा कान्छा प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका–८ का १३ वर्षीय सुगम पहारीलाई प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ प्रदान गरिएको छ ।
लमजुङ, तनहुँ, गोरखा, ओखलढुंगा र खोटाङलगायत जिल्लाका २४ जना धावक सहभागी प्रतियोगिताको उद्घाटन सुन्दरबजार नगरपालिका–८ भोटेवडारस्थित डिडिसी खेलमैदानमा गरिएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तिलकबहादुर कार्की प्रमुख अतिथि रहेका थिए ।
तार्कुकोटमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा अकला युथ क्लबका अध्यक्ष अभिषेक ढकाल, सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष बिजेन्द्र थापा, वडा नं. ९ का वडाध्यक्ष मनराज गुरुङ, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, वडा सदस्य केशरबहादुर कुँवर, कार्यक्रम संयोजक सुलभ ढकाल तथा एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवरलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित अनुज अधिकारी, वडाध्यक्ष बिजेन्द्र थापा, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, राष्ट्रिय खेलाडी राजेन्द्र कुँवर र स्थानीय निश्चल ढकाललाई सम्मान गरिएको थियो । क्लबलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक सुलभ ढकालले जानकारी दिए ।
तार्कुकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अकला युथ क्लबले जनाएको छ ।











प्रतिक्रिया