सम्बन्ध विच्छेदको मुद्दा बढ्यो, एक महिना १३ दिनमा ७१ प्रतिशत 



धादिङ ।

धादिङमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको छ ।

पछिल्लो २ दिनमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका ८ मुद्दा परेको छ । घरायसी समस्या आएपछि सम्बन्ध बिच्छेद गर्नका लागि अदालत आउनेहरुको स.ख्या बढ्दै गएको हो।

जिल्ला अदालतका श्रेस्तेदार उपसचिव माधव भण्डारीले आफू सरुवा भएर आएको २ दिनमै सम्बन्ध बिच्छेदका घटना धेरै आउने गरेकोले जिल्लाको अवस्था भयावह रहेको बताए।

वैदेशिक रोजगारीमा गएपछि घरपरिवारबाट बिछट्टीनु, आर्थिक अवस्था कमजोर, घरेलु हिंसा, रक्सी तथा कुलतको कारण सम्बन्ध बिच्छेदको घटना बढ्दै गएको हो ।

जिल्ला अदालतको पछिल्लो १ महिना १३ दिनको अवधिमा देवानी प्रकृतिका ८९ थान मुद्दामध्ये ६३ थान मुद्दा सम्बन्ध विच्छेदको रहेको छ । सम्बन्ध विच्छेदका मुद्दालाई हेर्ने हो भने ७१ प्रतिशत मुद्दा रहेकोले यो अवस्था भयावह नै भएको भण्डारीको भनाइ छ ।

सम्बन्ध बिच्छेदका मुद्दा मध्ये ४५ मुद्दा त मिलापत्रको माध्यामबाट फैसला भएको छ । राजीखुसीले दुबै पक्ष सहमत भएर सम्बन्ध बिच्छेद भएकोले बिस्तारै समय क्रममा कुनै गाउँ त सम्बन्ध बिच्छेदको गाउँबन्ने अवस्था आउने भण्डारीको भनाइ छ ।

धादिङ जिल्ला अदालतमा आर्थिक  वर्ष ०७९/८० मा १ हजार ६ सय ९७ थान मुद्दा मध्ये ५ सय ३७ मुद्दा सम्बन्ध बिच्छेदका रहेको छ । एकवर्षमा अदालतको २ सय ५१ कार्य दिनमा हरेक दिन २ जनाभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा रहेको तथ्याङ्क छ । महिलामाथिको हिंसा र आफूले घरमा बस्न नसक्ने अवस्था आएपछि सम्बन्ध बिच्छेदको मुद्दा दिने गरेको पीडित महिलाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्