महिला हिंसाका घटनामा सरकारलाई संवेदनशील बन्न अनेमसंघ समाजवादीको आग्रह



बुटवल। 

नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैङ्गिक हिंसाका घटनामा ध्यानाकर्षण गराउँदै सरकारलाई संवेदनशील रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

अनेमसंघ समाजवादी लुम्बिनी प्रदेशको बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिंसा हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्दामा संवेदनशील हुन आग्रह गरेको हो ।

अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरै, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एंव लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको उपस्थितिमा बसेको बैठकले संगठन निर्माणको गतिलाई चुस्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्तिक मसान्तभित्र अनेमसंघ समाजवादीलाई अद्यावधि गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य गैरेले विद्रोहको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गरे ।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य एंव प्रदेशका अध्यक्ष पाण्डेयले संविधान, समावेशिता र व्यवस्थाको रक्षाका लागि पार्टीले विद्रोहको बाटो लिएको बताउँदै समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले अनेमसंघ समाजवादीले अग्रपंक्तिमा गएर त्यसका विरुद्ध लाग्नुपर्नेमा जोड दिए । बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश अध्यक्ष उमा काफ्ले, उपाध्यक्ष लक्ष्मी भुसाल, सचिव गीता अन्जान केसीले बोल्दै अनेमसंघ समाजवादीलाई महिलाहरुको सशक्त संगठनका रुपमा स्थापित गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्