शिक्षक सरुवाविरुद्ध वडाकार्यालयमा तालाबन्दी



धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ३ स्थित पंचमुखी माविमा अभिभावकहरुले दरबन्दी खाली गरेरशिक्षक सरुवा गरिएको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

सिद्धलेक गाउँपालिकाले साउन २६ गते माध्यमिक तहको गणित शिक्षक रमेश नेपाललाई दरवन्दी सहित सिद्धेश्वर माविमा सरुवा गरिएपछि पंचमुखी माविमा दरबन्दी नै खाली गरिएको थियो।

गाउँपालिका अध्यक्षपरशुराम खतिवडा नेपाली काँग्रेसको टिकटबाट विजयी भएको र वडा नम्बर ३ का वडा अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएकोले राजनितिक आस्थाको आधारमा शिक्षकलाई दरबन्दी नै खाली गरेर शिक्षाको अधिकार माथी खेलवाड गरिएको अभिभावक होमनारायण श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठ बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत हुनुभएको थियो। विद्यालयमा अध्यापन गर्नका लागि पालकालाई अनुरोध गरिएपनि बवास्था गरेपछि चरणबद्ध आन्दोलनको घोषणा गर्दै अभिभावकहरुले वडा कार्यालय र पालिका कार्यालयमा धर्ना दिने र तालाबन्दी गरिने बताएका छन् ।

सिद्धलेक गाउँपालिकाले पालिकाको शिक्षा समितिको सिफारिसका आधार देखाएर साउन २६ गते राहत दरवन्दी सहित १३ जना शिक्षकको सरुवा गरेको थियो ।

गाउँपालिकाले आधार विना शिक्षक र व्यवस्थापन समितिको विरोध हुँदाँहुँदै अकलादेवी माविको निमाशि राहत संगिता उपाध्यायलाई नलाङ पात्ले माविमा, पञ्चमुखी माविका निमाशि राहत रमेश नेपाललाई सिद्धेश्वर माविमा, अमरआदर्श माविको प्रावि राहत कोपिला थापालाई महाकाली आविमा, बलदेवी आविका प्रावि स्थायी शिक्षक रामहरी खनाललाई दरवन्दी सहित अमर आदर्श माविमा, नागश्वेरी आविका प्राशि नेत्रवहादुर थापालाई जलेश्वरी माविमा, जलेश्वरी माविका प्राशि स्थायी आरतीदेवी रेग्मीलाई गोल्मारानी आविमा सरुवा गरेको थियो ।

यसै गरी गोल्मारानी आविका प्राशि स्थायी निर्मला आचार्य श्रेष्ठलाई नागेश्वरी आविमा, चार महिना अघि मात्रै प्राशिमा स्थायी नियुक्ति पाएका प्रकाश मल्ललाई समिटार आविबाट नलाङ पात्ले माविमा, सुन्दरी माविका प्राशि स्थायी शिक्षक रामप्रसाद अर्याललाई समिटार आविमा, अन्नपूर्ण आविका विरवहादुर श्रेष्ठलाई जलेश्वरी आविमा, अमर आदर्श माविका प्राशि राहत शिक्षक हरि कुँबरलाई अकलादेवी माविमा, मनकामना आविका प्राशि राहत पवित्रा दर्लामी मगरलाई बलदेवी आविमा र वलदेवी आविका प्राशि राहत पवित्रा सिलवाललाई मनकामना आविमा सरुवा गरिएको थियो ।

शिक्षा हाल कायम शिक्षा ऐन अनुसार शिक्षक सरुवा गर्न दुबै तर्फको विद्यालयको स्वीकृति हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिको स्वीकृति हुनु पर्ने, दरबन्दी खाली हुने गरि सरुवा गर्न नपाइने कानूनी प्रावधान रहेकोमा यसकोविरुद्ध गाउँपालिका लागि रहेकोले गाउँपालिका विरुद्ध निरन्तर संघर्ष गरिरहेको गाउँपालिकाका वडा सदस्य बेधनिधि पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्