सरकारी वकिलको जिम्मेवारी थपिएको छ : महान्यायाधिवक्ता पोखरेल

काभ्रेमा नयाँ भवन उद्घाटन



काभ्रे। 

 जिल्ला सरकारी वकिल कार्यालयलाई थप जिम्मेवारी प्रदान गरिएकाले त्यसको गुणस्तर र प्रभावकारितामा ध्यान दिन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् । ‘जिम्मेवारी बढेको छ, सेवाग्राहीको अपेक्षा बढेको छ’– महान्यायाधिवक्ता पोखरेलले भने–‘सेवा त्रुटिरहित हुनेछ । अब्बल सेवाका लागि ध्यान दिनुस् ।’

जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको नवनिर्मित भवनको समुद्घाटन गर्दै महान्यायाधिवक्ता पोखरेलले भने–‘मुद्दा अभियोजन र बहस मात्रै होइन । मानव अधिकारको संरक्षण गर्ने कार्यमा लाग्न, सजायमा छुट दिने निर्देशिका कार्यान्वयनमा प्रभावकारिताको अपेक्षा बढेको छ ।’

सरकारी वकिल कार्यालयलाई पछिल्लो समय थप जिम्मेवारी बढेको बताउँदै महान्यायाधिवक्ता पोखरेलले साइबर क्राईम, चेक अनादार, मिलापत्र, फौजदारी संहितामा भएका नयाँ व्यवस्थाको कार्यान्वयनमा सक्रिय र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिए । ‘भवन एउटा अवसर हो । राम्रो भवनमा बसेर सेवा प्रदान गर्न पाउनु काम गर्ने र सेवा पाउनेलाई सहज हो तर त्यसका चुनौती धेरै छन् । ‘भवन जस्तै सेवालाई गुणस्तर बनाउन साधन श्रोत सम्पन्न बनाउनु पर्छ’– पोखरेलले भने–‘थप जिम्मेवारी र अपेक्षा बढेको छ । अवसर र चुनौतीका रुपमा लिनु आवश्यक छ ।’

देशभर रहेका ९७ वटा सरकारी वकिलका कार्यालय मध्ये ८० वटाको निर्माण सम्पन्न भएको छ । बाँकी कार्यालय निर्माणको चरणमा रहेको नायव महान्यायाधिवक्ता विश्वनाथ कोइरालाले बताए । ‘सेवा र जिम्मेवारीमा अझै प्रभावकारिता कायम गर्न भवनले थप सहजता निम्त्याएको छ’– कोइरालाले भने –‘थपिएका जिम्मेवारी पुरा गर्न तथा नयाँ नयाँ जिम्मेवारीका विषयमा अध्ययन गर्न सक्षम जनशक्तिको आवश्यकता छ । त्यसका लागि पनि तयार हुनु आवश्यक छ ।’

 कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले भवनको सुन्दरतासँगै सेवामा सुन्दरताका लागि सुझाव दिए । जिल्ला न्यायाधीश मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकाल लगायतले सरकारी वकिल कार्यालय मार्फत प्रदान हुने सेवाको गुणस्तरमा थप सहज हुने बताएका थिए ।

जिल्ला महान्यायाधिवक्ता शम्भुकुमार बस्नेतले २०७९ असार २० गते शिलान्यास गरेको उक्त भवन समयवाधी भित्रै सम्पन्न भएको बताए । नव निर्मित भवन, प्रविधिमैत्री, अपाङ्ग मैत्री तथा अनुसन्धान मैत्री छ । करिब ५ करोड रुपैयाँमा उक्त भवन निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्