चियामा भाग्य र भविष्य  कहिल्यै भेटिएन



भद्रपुर। 

झापामा कर्मीको सिङ्गो परिवार चिया बगानमा आफ्नो भाग्य र भविष्य खोजी रहेको छ, जहाँ दुई पुस्ताले भाग्य र भविष्य खोज्दै गर्दा बितेर गए ।
झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डाको परिवारमा बाचुञ्जेलसम्म चिया मजदुरकै रुपमा बिताउँदै आइरहेका छन् । अघिल्लो पुस्ताले गर्दै आएको चिया मजदुरको काम आज उनीसँगै उनका श्रीमान् चारपुस्ताका छोराहरुले गर्दै आइरहेका छन् । बगानका अधिकांश मजदुरका सन्तान यो चिया बगान छाडेर अन्यत्र मजदुरी गर्न गएका छैनन् । दर्जनौं मजदुरका तीन चार पुस्ता यहाँ काम गरिरहेका छन् ।

दुई दशकअघिदेखि तेस्रो चौथो पुस्ता बगानमा मजदुरी गरिरहेका छन् । ५३ वर्षीया मुन्की करुवाका बाबु निताई करुवाको बगानमै भविष्य खोज्दा खोज्दै जीवन समाप्त भयो । आमा मातुली करुवाको उमेर समेत चिया बगानमै मजदुर गर्दा गर्दै वित्यो । अहिले उनको सिङ्गो परिवार मजदुरमै रमाइरहेको छ । उनीहरुको भन्दा अलि फरक छ सोही ठाउँका ४७ बर्षका राजन करुवा र लक्ष्मण करुवाको दैनिकी । दुवैले बाबुबाजेको मजदुरी पेसालाई अंगाले पनि आफ्नो चौथो पुस्ताका सन्तानलाई भने विदेश पठाए । राजन आफ्नो परिवारका तीन पुस्ताका चिया मजदुर हुन् । त्यही कामलाई अहिले राजन र उनकी श्रीमती सुशीलाले निरन्तरता दिँदै आइरहेका छन् । तर, दुई सन्तान वैदेशिक रोजगारीमा गएका छन् ।  लक्ष्मणका तीन सन्तानमध्ये दुई जना विदेश र एकजना साथमै छन् ।

झापाको सतिघट्टा चिया बगानमा अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि मजदुरकारुपमा काम गर्छन् । पुस्तौदेखि मजदुरी गर्दा पनि केही जोड्न नसेको उनी  बताउँछन् । आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोरा छोरी पनि काम गर्न आउँछन् ।’ उनका छोरा सुरज र छोरी मलिनाले १० कक्षासम्म त पढे । तर,त्यो भन्दा माथि उच्च शिक्षा पढाउन उनको परिवारले नसक्ने भएपछि दुवैले हरेक दिन विहान चिया बगानमा काम गर्छन् । दिनहुँ चिया बगानमा काम गर्न नआए साँझ चुलो पनि नबल्ने मुन्की करुवा बताउँछिन  । उनका छोराछोरीले पढ्न पाएका छैनन । चिया बगानमा मजदुरकारुपमा काम गर्छन् । मजदुरीबाट कमाएको रुपैयाँ घरव्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाइन्  । त्यही भएर पढाई छाडेर छोरा छोरीलाई समेत आफुसँगै मजदुरीमै ल्याएको सुनाउँछिन्  । बगानले दिएको थोरै जगामा सानो कटेरो बनाएर दुःख कष्ट गरेर बस्नु परेको पीडा उनीहरुको छ । आकाशबाट खसेको पानीलाई छानोले रोक्न सक्दैंन रातभरि भाँडा थापेर रात कटाउनु पर्छ । छानोले न घाम छेक्छ न पानी यस्तै छ मजदुरको जिन्दगानी उनीहरुले सुनाए ।

नेपाल स्वतन्त्र चिया मजदुर युनियनका पूर्व केन्द्रीय सदस्य रामचन्द्र अधिकारीका अनुसार सतिघट्टा चिया बगानमा करिब डेढदेखि दुईसय मजदुर छन् । उनीहरु तीन चार पुस्तादेखि मजदुरी गर्दै आएका छन् । तर, पनि सवैको जीवनस्तर खासै माथि उठ्न सकेको छैन् । केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको अभिलेख भेट्न सकिने अधिकारीको भनाई छ । अहिले ४ सय ३५ भएपनि काम भएको दिनको मात्र हाजिरा पाईन्छ । घर चलाउँन निक्कै कठिनाई छ । चिया बगान यहाँका मजदुरका लागि वैदेशिक रोजगारी मुलुकझैँ भएको राजनले बताए   ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बीऊ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इष्ट इन्डिया कम्पनीमार्फत दार्जीलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो । त्यसपछि नेपालको पहाडी क्षेत्र इलाममा चिया रोपण गरिएको थियो भने क्रमशः पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न सुरु गरेको तथ्याङ्क छ ।

इलाममा ३ हजार ३ सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा १ हजार ६ सय भन्दा बढी चिया बगान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्