बेंसीशहर नगरपालिकाद्वारा उत्कृष्ट कृषकलाई सम्मान



लमजुङ। 
लमजुङको सदरमुका स्थित बेंसीशहर नगरपालिकाले नगर भित्रका उत्कृष्ट १४ जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कार’ कार्यक्रम अन्तर्गत  आइतबार कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

नगरपालिका कृषि, पशुपक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट तरकारी खेती तर्फ ५ जना, बाख्रापालन तर्फ २, भैँसी पालन तर्फ ४, मौरीपालन, कफि खेती र डाले घास तर्फ १/१ कृषक पुरस्कृत भएका छन् ।

जसमध्ये तरकारी खेती तर्फ बेंसीशहर नगरपालिका २ का सविना श्रेष्ठ, वडा नं. ५ का गजमान गुरुङ, वडा नं. १० का मदन बहादुर भण्डारी, वडा नं. ११ का दिपेन्द्र विष्ट, वडा नं. १० का बैशबहादुर गुरुङ रहेका छन् ।

 बाख्रापालन तर्फ पुरस्कृत हुने कृषकमा बेंसीशहर ५ का सन्तबहादुर तामाङ र वडा नं. १ का चिजामाया गुरुङ रहेका छन् ।  त्यसैगरी भैँसी पालन तर्फ वडा नं. २ का राधिका खत्री, वडा नं. ३ का विष्णुमाया अधिकारी, वडा नं. १० का सोमबहादुर गुरुङ र वडा नं. ६ का मधुराम रिमाल  पुरस्कृत भएका छन्।

त्यसैगरी मौरीपालन तर्फ वडा नं. ४ का अशोक गुरुङ, डाले घास तर्फ वडा नं. २ का डिलमाया राना, कफि खेती तर्फ वडा नं. ७ गंगा अधिकारी रहेका छन् ।
कृषकहरुलाई सम्मानपत्र र नगद १० हजार प्रदान गरिएको कृषि तथा पशुपन्छी शाखाका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सम्मानित भएका कृषकहरुलाई सम्मानपत्र, खादा र टिका लगाई नगद प्रदान गरिएको थियो ।

 कार्यक्रममा नगर प्रमुख गुमान सिंह अर्यालले जुन क्षेत्रमा लागे पनि व्यावसायिक रुपमा लाग्नुपर्ने भन्दै किसानहरुको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको बताए। नगरपालिकाले पुरस्कृत गरिएका कृषकहरुको अनुगमन गरेर मात्र उक्त पुरस्कार प्रदान गरिएको नगर प्रमुख अर्यालको भनाई छ ।

कार्यक्रममा सम्मान तथा पुरस्कृत हुनेबाट वडा नं. २ मा तरकारी खेती गर्दे आएकी सविना श्रेष्ठ र वडा नं. ६ मा भैसीपालन गर्दे आएका मधुराम रिमालले पुरस्कार तथा सम्मानले व्यवसायमा अघि बढ्न थप हौसला मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्