दुई हजार बढी पशुपक्षीको उपचार



लमजुङ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र लमजुङले दुई हजार बढी पशुपक्षीको उपचार गरेको जनाएको छ । भेटेरिनरी अस्पतालमा गत आर्थिक वर्षमा मात्रै विभिन्न समस्या भएका दुई हजार ६ सय २५ पशु पक्षीको उपचार भएको हो ।

केन्द्रमा उपचार भएका पशुपक्षी मध्ये दुई हजार एक सय ५१ पशुपक्षीको मेडिकल उपचार भएको छ ।  दुई सय ३१ पशुपक्षीको गम्भीर शल्यक्रिया र ३० पशुपक्षीको सामान्य शल्यक्रिया सेवा भएको हो ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा बेसीशहरस्थित भेटेरिनरी अस्पतालमा एक सय २१ पशुचौपायको प्रसूति सम्बन्धी उपचार भएको छ । सोही आर्थिक वर्षमा भेटेरिनरी अस्पतालले ८८ कुखुरा चार वटा माछामा विभिन्न रोग सम्बन्धी उपचार गरेको जनाएको छ ।

जिल्लामा पशु चौपायामा बढी मात्रामा थुनेलो, नाम्ले जुकाको समस्या, माटे रोग जस्ता समस्याहरू देखिएका हुन् । सो बाहेक अन्य जुका सम्बन्धी समस्या भएका पशु चौपायाहरूको पनि उपचार भएको विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

पशुपक्षीको उपचारसँगै गत आर्थिक वर्षमा पशुपक्षीमा लाग्ने विभिन्न रोग प्रतिरोधात्मक खोप सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ । अस्पतालले पशुपक्षीमा एआरभी, पिपिआर, एफएमडी, एनडी, स्वाईन फिभर, एचएस÷विक्यु सम्बन्धी खोप सेवा उपलब्ध गराएको हो ।

गत आर्थिक वर्षमा जिल्लाका पाँच वटा पालिकामा पशु पूर्ण खोप कार्यक्रम नै सञ्चालन भएको थियो । जिल्लाको बेसीशहर, सुन्दर बजार, मध्य नेपाल, राईनास नगरपालिका र क्होलासोँथार गाउँपालिकामा पशु पूर्ण खोप सञ्चालन भएको थियो ।

कार्यालयका अनुसार लमजुङमा मात्रै करिब पाँचखालको हाराहारीमा पशुपक्षी पालन गरिएका छन् । कार्यालयको गत वर्षको तथ्याङ्क अनुसार जिल्लामा दुई लाख ९७ हजार सात सय आठ कुखुरा पालिएका छन् । जिल्लामा एक लाख ४१ हजार दुई सय ४९ बाख्रा, १३ हजार चार सय ११ भेडा र ६ हजार सात सय ४५ बंगुर पालिएको तथ्याङ्क छ । सोबाहेक ३७ हजार ९८ भैसी, १५ हजार पाँच सय २३ गाई, एक सय चार चौँरी र १६ हेक्टर जलासय क्षेत्रफलमा माछा पालन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्