नेपालको च्याम्पियन बन्ने लक्ष्य



काठमाडौं । नेपालले आगामी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक संजिव मिश्रले बताएका छन् ।

साफ तयारीको बारेमा जानकारी गराउन सोमबार आयोजित एक पत्रकार सम्मेलनमा (एन्फा) का लिग निर्देशक संजिव मिश्रले नेपालको लक्ष्य च्याम्पियन बन्ने नै रहेको बताएका हुन् । सेप्टेम्बर २१ देखि ३० सम्म नेपालले नै (साफ) यू–१९ च्याम्पियनसिप आयोजना गर्दैछ । उमेर समूहमा नेपालको लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ । हामी यसअघि दुई पटक च्याम्पियन बनिसकेको छौं,’–मिश्रले भने,–‘यसपाली पनि हाम्रो लक्ष्य उपाधि जित्ने नै हुनेछ ।’

मिश्रले पछिल्लो पटक उमेर समूहका प्रतियोगिता धेरै भएकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताए । पछिल्लो समय नेपालमा उमेर समूहका प्रतियोगिताहरु भइरहेका छन् । युवा खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउनु अगाडी नै धेरै अनुभव बटुलिसकेका हुन्छन्,’–मिश्रले भने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान तथा समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसैगरी नेपालले सेम्टेम्बर २५ मा माल्दिभ्सविरुद्ध समूह चरणको अन्तिम म्याच खेल्नेछ । सन् २०१५ र २०१७ मा नेपाल च्याम्पियन बनेको थियो । त्यसैगरी नेपालले सन् २०१९ र २०२२ (गत संस्करण) मा भने समूह चरण पनि पार गर्न सकेन । यो प्रतियोगिता सन् २०१५ मा यू–१९,२०१७ र २०१९मा यू–१८ तथा गत संस्करण यू–२० का नाममा आयोजना भएको थियो ।

साफ यु–१६ का लागि नेपाली टोलीको घोषणा

भुटानमा अर्को साता सुरु हुने साफ यु १६ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । च्याम्पियनसिप भुटानमा भदौ १५ देखि २४ गते सम्म सन्चालन हुनेछ । नेपाल समूह एमा भारत र बंगलादेश छन् । समूह बी मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।

नेपाली यु–१६ टोली

गोलकिपर – विशेष बानियाँ, पेमा नोर्बु भोटे, भक्तबहादुर परियार
डिफेन्डर – एकराज विश्वकर्मा, कृष्ण थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राजलवट,

किशोरकुमार दनवार, शरन एसके

मिडफिल्डर – सुजल स्याङ्तान, राम थामी, पेमा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुभाष बम, लक्ष्मण थामी, दिलान लिम्बु

फरवार्ड – सन्तोष गोङबा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी
राष्ट्रिय फुटबल टोलीको ब्यवस्थापकमा भण्डारी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्तमराज भण्डारीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा नियुक्त गरेको छ । एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले सोमबार भण्डारीलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । पछिल्लो पटक अनिल श्रेष्ठले नेपाली टोलीको ब्यवस्थापन हेर्दै आएका थिए । नेपाल अहिले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीमा छ । नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गदैछ ।

प्रतिक्रिया दिनुहोस्