पोखरामा विद्यालय नाटक महोत्सव हुँदै



पोखरा । पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको आयोजनामा हुने महोत्सव आगामी भाद्र २७ शुरु हुनेछ।

असोज १२ गतेसम्म चल्ने पाँचौं संस्करणको महोत्सवमा कुल १५ नाटक मञ्चन कुनेछन्। जसअन्तर्गत पोखरा महानगरपालिकाभित्रका विद्यालयका १४ नाटक रहनेछन्। यसका अलावा अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक मञ्चन हुने पोखरा थिएरटका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी गराए। यी नाटक महोत्सव अवधिभर गन्धर्व नाटकघरमा हरेक दिन एक+एकका दरले मञ्चन गरिनेछ।

पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिका स्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो। त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो। लगातार तीन वर्षसम्म प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो।

थिएटरमा भइरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटरप्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताए।महोत्सवको नारा विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार रहेको छ।

प्रतिक्रिया दिनुहोस्