रंगशाला ४५ बर्षमा पनि बन्न नसकिने अवस्था



इलाम । कनिका छरेजस्तो बजेट बिनीयोजन गर्दा इलाममा निर्माणधिन माईभगवती रंगशाला ४५ बर्षमा पनि नसकिने अवस्थामा पुगेको छ । करिब १ सय २० रोपनी क्षेत्रफलमा चारबर्ष अघिबाट निर्माण थालिएको रंगशालामा मात्र चार करोड बजेट सकियो । अन्तराष्ट्रिय स्तरको फूटबल र क्रिकेट खेलका लागि रंगशाला निर्माणका लागि ५० करोडको स्टमेट भएको छ । तर यहि गतिमा बजेट आउने हो भने सो रंगशाला सकिन करिब ४५ बर्ष लाग्ने देखिएको हो ।

इलाम नगरपालिका १० गोदक स्थित राजदुवालीमा माईभगवती रंगशाला निर्माण थालेको चारबर्ष बित्यो । ५० करोडको स्टमेटबाट अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न चारबर्षमा मात्र चार करोड बजेट सकिएको छ । कोशि प्रदेश सरकार र इलाम नगरपालिकाको बजेटबाट रंगशाला निर्माणको काम भइरहेको छ । चार आर्थिक बर्षमा बिनीयोजित भएको बजेटलाई हेर्दा स्टमेट अनुसार रंगशालाको काम सक्न अझै ४५ बर्ष लाग्ने देखिएको छ ।

आर्थिक बर्ष ०७६÷०७७ बाट उक्त रंगशालाको काम सुरु भएको हो । पहिलो आर्थिक बर्ष ०७६÷०७७) मा १ करोड ३६ लाख ८७ हजार, आर्थिक बर्ष ०७७÷०७८ मा ८४ लाख १९ हजार, आर्थिक बर्ष ०७८÷०७९ मा ७६ लाख ७९ हजार र गत आर्थिक बर्ष ०७९÷०८० मा १ करोड २ लाख ९८ हजार रुपैंयाँ खर्च भयो । यो चार आर्थिक बर्षमा सो रंगशाला निर्माण गर्न जम्मा ४ करोड १ लाख ८३ हजार रुपैंयाँ मात्र बजेट खर्च भयो । खर्च भएको जम्मा बजेटमध्ये ३ करोड कोशि प्रदेश सरकार र बाँकी रकम इलाम नगरपालिकाबाट बिनीयोजन भएका इलाम नगरपालिकाका इञ्जिनीयर दिपक गुरागाइँले बताउनुभयो ।

रंगशाला निर्माण बिनीयोजन बजेट र निर्माण कार्यको ढिलाईलाई हेर्दा खेल क्षेत्रलाई प्रदेश र स्थानीय सरकारले खासै प्राथमिकता नदिएको पाइन्छ । रंगशाला निर्माणको काम भइरहेपनि चालु आर्थिक बर्षमा यो रंगशाला निर्माण गर्नका लागि प्रदेश र स्थानीय सरकारले बजेटै बिनीयोजन नगरेको इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले बताउनुभयो ।

चार चरण गरेर हालसम्म ग्याबिन, प्याराफिट, पर्खाल, होम पाइप, भुइँ मुनिको नाली निर्माण, गेट निर्माण, रेलिङ, र बाटो ग्राबेल गर्ने काम भएको छ । निर्माणधिन सो मैदानलाई फूटबल खेल्न योग्य बनाउनका लागि अझै डेढ करोड बजेट आवश्यक पर्ने तर क्रिकेट खेल्न योग्य मैदान बनाउन भने तत्काल सकिने अवस्था नरहेको इञ्जिनीयर गुरागाइँको भनाई छ ।

एकातिर अन्तराष्ट्रिय रंगशाला निर्माणमा सुस्तता अर्कोतर्फ जिल्लाकै एकमात्र ठूलो खेलमैदान सदरमुकामको ठूलो टुडिखेल पनि जिर्ण बन्दा जिल्लामा क्रिकेट र फूटबलका खेलकुदका गतिबिधि पूरै बन्द छ । त्यसैले कनिका छरेजस्तो बजेट बिनीयोजनले रंगशाला समयमा नबन्ने हुँदा तीनै तहका सरकारले पर्याप्त बजेट हालेर चाँडो रंगशाला निर्माण नगरे इलामका खेलाडी पलायन हुने अवस्थामा पुग्ने इलामका पूर्व फूटबल खेलाडी दिनेश काफ्लेले चिन्ता ब्यक्त गर्नुभयो ।

सदरमुकाममा रहेको ठूलो टुडिखेललाई आधुनिक रंगशाला बनाउन डिपिआर तयार भएको छ । डिपिआर अनुसार चालु आर्थिक बर्षमा शहरी बिकास मन्त्रालयबाट ५० लाख बजेट प्राप्त भएको छ । नगरपालिकाका अनुसार सो बजेटले चालु आवबाटै आधुनिक रंगशालाको काम थाल्ने भएको छ ।

तर यी दुबै रंगशाला निर्माणमा पर्याप्त बजेट बिनीयोजन नगरे दुबै रंगशाला अलपत्र बन्ने पक्का छ । जसले गर्दा खेलकुदबाटै आफनो भविष्य बनाउने सोच बोकेका र उदियमान खेलाडीहरु खेल खेल्नबाट बञ्चित बन्ने हुँदा रंगशाला चाँडो सक्न सम्बन्धित पक्ष गम्भिर बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्